
पाेखरा। नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले हात पारेका छन्।
पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले च्याम्पियनको उपाधि जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।
यस्तै प्रतिस्पर्धी शोभा कार्की र बालचन्द्र बरालको समूह उपविजेता भएकाे छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमाकाे पुरस्कार पाएको छ ।
विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका हुन् ।
कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो । पहिलाे सेसनकाे समापनकै बीच नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा समेत गरेका छन् ।