
तानसेन। बुधबारदेखि सुरु भएको पाल्पाको सत्यवतीमा लाग्ने चिच्चाएर बर माग्ने मेलामा भक्तजनको बाक्लो उपस्थिती देखिएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णीमाको बेला लाग्ने यो मेलामा मध्यरातमा जागराम बसेर चिच्याएर बर माग्न भक्तजनको भीड लागेको हो ।
गतवर्ष कोरोना महामारी गर्दा नित्य पुजामात्र भएकोमा यसवर्ष भने संक्रमणका केही कमी आएको हुँदा भक्तनजको भीड बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
तिनाउ गाउँपालिका वडा नं.४ मा रहेको सत्यवती तालमा बासको लिंगो गाड्ने तथा तालको परिक्रमा गरी बिहान सोही लिंगोमा पुजा गर्ने प्रचलन रहेको छ । सत्यवती बजैले कानने नसुन्ने भएको हुँदा मध्येरातमा चिच्याएर बर मागेमा मनोकाक्षा पुरा हुने धार्मीक विश्वासले गर्दा देशका विभिन्न स्थानसंगै भारतबाट समेत भक्तजनको बाक्लो उपस्थिती हुने गरेको छ ।

तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले दिएको जानकारी अनुसार यो वर्ष पनि बजैंको दर्शन गर्न र भाकल अनुसारको पुजा गर्न भक्तजनको बाक्लो उपस्थिती रहेको छ । कोरोना सुरु हुनुभन्दा अघिजस्तो नभएपनि अहिले संक्रमणमा कमी आएको र गतवर्ष पुजा गर्न नपाएकाहरुले गर्दा यो वर्ष पनि भक्तजनको उपस्थिती बढेको हो ।
कार्तिक महिनामा पूर्णीमा परेमा जोग पर्ने र हुँदा हजारौं भक्तजनको उपस्थिती हुने भएपनि यो वर्ष जोग नपर्दा समेत १५ हजारबढी भक्तजनले दर्शन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
रातीको समय तालमा लिङ्गो गाडेर विहान सोही लिङ्गो चिनेर पुजा गर्ने चलन रहेको सत्यवती मन्दिरमा एक पटकमा एउटामात्र चिच्याएर बर माग्ने परम्परा रहेको छ ।
बजैले कानले नसुन्ने भएको हुदाँ चिच्याएर वर मागेमात्र बजैले सुन्ने र भाकल पुरा हुने किम्वदंन्ती रहेको छ । सत्यवती बजैको लागि परेवा र बाख्राको वली दिने चलन रहेको छ । यो वर्षको मेला गत बुधबारदेखि सुरु भएर आज समापन हुँदैछ।
