
तानसेन।बाह्रौ राष्ट्रिय जनगणना २०७८ को मुख्य प्रश्नावली भर्ने कार्य आजबाट समापन भएको छ ।
कार्तिक २५ गतेदेखि गतेदेखि सुरु भएर मंसिर नौ अर्थात आजसम्म चलेको मुख्य प्रश्नावली भर्ने कार्यमा उत्तरकर्ताले सही जवाफ नदिदा भने सही तथ्यांक निकाल्न समस्या देखिएको हो ।
मुख्य प्रश्नावली भर्ने कार्यमा घरधनीले विवरण लुकाउने र गतल जानकारी दिने गरेका कारण सही तथ्यांक नआउने समस्या देखिएको हो । यस पटकको जनगणनामा जो जहाँ छ सोही स्थानदेखि अर्थात अक्सर बसोबास गर्ने स्थानबाटै विवरण संकलन गर्नेगरी विवरण संकलन गरिएको थियो ।
यसैबीच कतिपय स्थानमा भने गणहरुलाई उत्तरकर्ताले गलत विवरण दिने गरेका कारण सही तथ्यांक आउन समस्या देखिएको छ । खासगरी भाडामा बसोबास गर्ने नागरकिहरुको विवरण संकलनका क्रममा घरधनीबाट विवरण लुकाउने र गलत जानकारी दिने गरेका कारण तथ्यांक संकलनमा समस्या देखिएको जनगणना कार्यालय पाल्पाले जनाएको छ ।
घरधनीले भाडामा बस्नेको विवरण दिएमा धेरै कर तिर्नुपर्छ भन्ने मान्यता राखेर विवरण लुकाउने गरेको पाइएको छ । जसका कारण एकै परिवारको विवरण लिनका लागि गणकहरु पाच पटकसम्म धाउनुपर्ने बाध्यता रहेको जनगणना कार्यालय पाल्पाका सहायक जनगणना अधिकृत लेखनाथ पाण्डेयले जानकारी दिए ।
पाण्डेयका अनुसार गणकहरुलाई अभद्र व्यहार गरेको नपाइए पनि विवरण लुकाउने र सुपरिवेक्षक तथा कार्यालयको समन्वयमा विवरण संकलन गर्नुपर्ने सम्मको अवस्था सृजना भएको छ ।
पहाडि क्षेत्रमा ग्रामीण बस्तीमा भन्दा शहरमा विवरण लिन समस्या भएको अधिकृत पाण्डेयले बताए । पाल्पामा पहिलो चरणमा ९४ जना सुपरिवेक्षकले घर तथा घर परिवारको सूचिकरण गर्ने तथा दोस्रो चरणमा ३ सय ७९ जना गणकहरुले मुख्य प्रशनावली भर्ने कार्य गरेका थिए ।