३४ औं एड्स दिवसः पाल्पाका प्रभावित बालबालिकालाई नगद तथा स्टेशनरी वितरण

तानसेन। ३४ औं विश्व एड्स दिवसका अवसरमा पाल्पाका एचआइभी संक्रमित र प्रभावित वालबालिकालाई नगद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा, प्रतिबद्ध सहयोग समूह तथा नार्डेक नेपालको संयुक्त आयोजना तानसेनमा भएको कार्यक्रममा १५ जना बाल बालिकालाई सामग्री हस्तान्त्रण गरिएको हो ।

 

परिवार नियोजन संघको तर्फबाट स्टेशनरी सामग्री तथा सेतु नेपालको सहयोगमा प्रविबद्ध सहयोग समूहले ८७ हजार बराबर नगद सहयोग गरेको समूहकी सदस्य माला न्यौपानेले बताइन ।

”असमानता हटाऔं एड्सको अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले सुरुवाती समयमा कोभिड भन्दा महामारीको रुपमा रहेको एड्स अहिले घट्दो क्रममा रहेको बताए । एक दशकमा ६३ प्रतिशतले संक्रमित घटेको हुँदा जनचेतना फैलाउन सके केही दशकमै यसको संक्रमण शुन्यमा झर्ने विश्वास प्रमुख न्यौपाले बताए ।

यस्तै नेपाल परिवार नियोज संघ पाल्पा शाखाका कार्य समिति सदस्य माधव अर्यालले एड्सको न्यूनिकरणका लागि विद्यालय स्तर तथा युवा पुस्तालाई यसको जनचेतना फैलाउनुपर्ने बताए। उनले सबैमा जनचेतना भएकै कारण अहिले संक्रमित थपिने क्रम रोकिएको हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए।

पाल्पामा अहिले तीनसय ३५ जना संक्रमित रहेका छन । यस्तै विगत एक वर्षमा ७ जना संक्रमितको मृत्यु भएको प्रतिबद्ध सहयोग समूले जनाएको छ । संक्रमितमध्ये दुई जना महिला बाहेक सबैले नियमित औषधि सेवन गर्दै आएको पनि समूहले जनाएको छ । दश स्थानीय तह रहेको पाल्पामा २२ जना बालक संक्रमित रहेका छन् ।

संक्रमित मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम निस्दी गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एड्स दिवसको अवसरमा चेतनामुलक नाटक सहयात्रीको समेत पर्दशन गरिएको थियो ।

हेर्नुसहाेस् सहयात्रीः

परिवार नियोजन संघ पाल्पा शाखा प्रर्वद्धक सोबाकान्त न्यौपानेको स्वागत र  संस्थाका कर्मचारीले सोम आलेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया