यस्ताे बन्दै छ तानसेनको श्रीनगर

श्रीनगर सौन्दर्यकरणः२० वर्षका लागि निजी क्षेत्रले गर्दैछ संचालन र व्यवस्थापन

तानसेन। पाल्पाको तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकणका लागि सरोकारवालासंग छलफल गरेको छ । बिहीबार तानसेनमा भएको छलफल कार्यक्रममा श्रीनगर संचालन, सौन्दर्यकरण तथा वित्तिय व्यवस्थापनको बारेमा छलफल भएको हो ।

छलफलमा बोल्दै तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले नगर सरकारले निजी क्षेत्रसंगको सहकार्यमा पर्यटन पर्वधनका लागि परियोजना सुरु गर्न लागेको बताए । उनले नगर सरकारले जुनसुकै अवस्थामा पनि श्रीनगरलाई संचालनमा ल्याउने बताए ।

ऐतिहासिक महत्व नमासिने गरी नगर सरकारले कार्यक्रम अघि सारेको र परियोजना संचालन भएपछि आन्तररिक र बाह्य पर्यटक बढ्नुको साथै सम्रग जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास नगर सरकारले गरेको नगर प्रमुख शाहीले बताए । निजी क्षेत्रको तर्फबाट नरेश श्रेष्ठले वातावरणीय अनुकुलता अनुसार नै श्रीनगर व्यवस्थापन गरिने बताए । उनले स्थानीय स्रोत साधनको उच्चतम प्रयोगबाटै यसलाई व्यवस्थापन गर्ने पनि बताए ।

छलफलमा जिल्लास्थित सरोकारवाहरुले हिमाल र तराईसंगको दृष्यावलोकन गर्न सकिने श्रीनगर क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताए ।

निजी क्षेत्रसंगको सहकार्यमा २० वर्षका लागि परियोजना सुरु हुन लागेको हो । बीस देखि २५ करोडको लगानीमा सुरु हुन लागेको परियोजनाको तीन वर्षसम्म निर्माण अवधि राखिएको छ भने २०० रोपनी बुइल्डअप एरिया तोकिएको छ।

यस्तै संचालनमा आएको तीन वर्षसम्मको रोयल्टी समेत नगरपालिकाले छुट दिने व्यवस्था गरेको छ ।तर चौथो वर्षदेखि भने कुल आम्दानीको १० प्रतिशतका दरले रायल्टी लिने व्यवस्था मिलाईएको छ ।

नगरपालिकाले सामुदायिक वनको परिधि भित्र रहेर अस्थायी प्रकृतिको संरचना निर्माण, ढलान प्रकृतिको नभई स्थानीय श्रोत साधनको उपयोग, पूर्वाधार अपाङ्गमैत्री हुनु पर्ने, रोजगारीमा स्थानीय कर्मचारी (अद्र्धदक्ष तथा अदक्ष) लाई प्राथमिकता, सरसफाई एवं वातावरणीय पक्षलाई ध्यान दिनु पर्ने जस्ता मापदण्ड बनाएको छ ।

यस्तै संचालकले श्रीनगर वरिपरिको सरसफाई व्यवस्थापन, गाडीहरुको पार्किङ्गको प्रभावकारी व्यवस्थापन, पर्यटकीय सूचना केन्द्रको व्यवस्था, वाल उद्यान, भ्यूटावर, व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, क्याफे, श्रीनगर क्षेत्रमा रहेका पैदल मार्गलाई व्यवस्थित गर्ने ,तारबार÷फेन्चिङ्गकोसमेत व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको छ ।

तपाईको प्रतिक्रिया