
काठमाडाैं।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।
किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् ।
लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् ।
किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताए ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।
बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ ।