पाल्पा । महिलालाई आर्थिक रुपमा सबल बनाउन बाख्रा उपहार उपलब्ध गराइएको छ । आर्थिक रुपमा कमजोर परिवारका महिलाहरुलाई व्यावसायिक बाख्रापालनका लागि उपहार प्रदान गरिएको हो ।

पाल्पाको तानसेन नगरपालिकामा महिलाहरुलाई व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन थालेको हो । तानसेन नगरपालिकाभित्र एक हजार महिलालाई आयआर्जन सम्वन्धि कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

बाख्रापालनका लागि बाख्रा, खोर व्यवस्थापन, घाँसको बीउ तथा प्राविधिक सहयोग पछि तानसेनका महिलाहरु बाख्रापालनमा आकर्षित छन् ।
तानसेन नगरपालिका, हेफर परियोजना नेपाल, ग्रामीण आर्थिक विकास संघ रेडाको अगुवाईमा तानसेन नगरपालिका–९, छापाका महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएपछि दीदी समुह आयआर्जन गर्न थालेका हुन ।

स्वलम्वन बाख्रापालन समुहले १८ महिना अघि बाख्रा उपहार पाएको थियो । त्यही दिदी समुहले अहिले बहिनी समुहको आयआर्जन गर्न ३० बाख्रा उपहार प्रदान गरेको दीदी समुहका अध्यक्ष दुर्गा कुमारी थापाले बताए ।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई व्यावसायिक बनाई आर्थिक रुपमा सबल बनाउन बाख्रा उपहार प्रदान गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । महिलाहरु आर्थिक रुपमा सबल भएपछि मात्र परिवार सक्षम हुने भएकाले नगरपालिको महिला लक्षित कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख शाहीले बताए ।

तानसेन नगरपालिका उप प्रमुख लक्ष्मी देवी पाठकले महिलालाई व्यावसायिक रुपमा क्षमता अवृद्धिको खाँचो रहेको बताइन् । महिलाहरु आर्थिक रुपमा सबल बनेमात्र सामाजिक, राजनैतिक प्रगति हुने उनको भनाई छ ।

यस्तै ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले गरीबी पहिचान गरी आयआर्जनका लागि बाख्रा उपहार कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले बहिनी समुहले उत्पादन गरेको बाख्रा अर्को समुहका दिदीबहिनीको हितमा उपहार प्रदान गर्ने कार्यक्रम रहेको बताए । नगरलाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अगाडि बढाएको तानसेन नगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया