तानसेन। जिल्ला निर्वाचन कार्यालय पाल्पाले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानबाट १० हजार बढी मतदाता थपिएका छन् । गत मंसिर १७ गते देखि पुस ८ गतेसम्म जिल्लाभर संचालन भएको मतदाता नामावली संकलन अभियानबाट दश हजार २ सय ४५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए ।
जिल्लाका विभिन्न पालिकाका केन्द्रमा संकलन गरिएको फोेटो सहितको मतदाता नामावलीमा ४ हजार ८ सय ९० जना महिला र ५ हजार ३ सय ५५ जना पुरुषको मतदाता नामावली संकलन गरिएको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रामपुर नगरपालिकामा सबै भन्दा बढी २५ सय मतदाता थपिएका छन् । यस्तै निस्दी गाउँपालिकामा १३ सयबढी नयाँ मतदाता थपिएका छन् ।
अन्य स्थानीय तह र जिल्ला प्रशासन कार्यालयदेखि समेत दैनिक रुपमा मतदाता नामावली संकलनको काम समेत भएको छ । आगामी निर्वाचनमा सहभागीता बढाउनका लागि गाउँगाउँमा सचेतना बढाएका कारण पनि छुटेका र नयाँ नागरिकता बनाएकालाई फोटोसहितको मतदाता नामावली भर्ने कार्य तिव्र रुपमा भएके छ ।
यस्तै नामावलीमा भएका त्रुटी सच्चाउनका लागि जिल्ला निर्वाचन कार्यालयमा पुग्नेको संख्यामा समेत वृद्धि भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।