काठमाडौं । लोकप्रिय गायक पुस्कल शर्माको नयाँ गीत ‘तिम्रो थर मेरो थर’ स्रोता एवं दर्शकले निकै रुचाएका छन् । यो गीतको भिडियोमा गायक शर्मा आफ्नी श्रीमती सबी शर्मासँग देखिएका छन् । रियल जोडीको अभिनय रहेको भिडियोलाई दर्शकले निकै रुर्चाएका छन् ।

 

पुस्कलले यो गीत गत शुक्रबार सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत रहेको गीतमा पुस्कल र शान्तिश्री परियारको स्वर छ । गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन् । गीतको भिडियालाई पुस्कल स्वयंमले निर्देशन गरेका हुन् ।

भिडियोलाई मंगलबार साँझसम्म युट्युबमा ५ लाख ९० हजारले हेरिसकेका छन् । भिडियो युट्युब ट्रेन्डिङमा शीर्ष  ८ स्थानमा आईपुगेको छ । टीकटकमा पनि गीत उत्तिकै छाएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

तस्वीर : सामाजिक सञ्जालबाट

पाल्पामा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती कमाएका लोकप्रिय गायक पुस्कलले गतवर्ष विवाह गरेका हुन् । रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग उनले विवाह गरेका हुन् । पुस्कलले सो समय कोरोनाको माहोल भएकाले आफ्नो विवाहबारे कसैलाई जानकारी नदिएको बताएका छन् । त्यसयता पनि जानकारी दिने माहोल नमिलेको उनको भनाई छ ।

उनले केही दिनअघि पुस्कलले बुटवलमा जारी ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला’मा प्रस्तुति दिएका थिए । जहाँ स्टेजमा आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ गाउँदै गर्दा स्रोता दर्शकलाई सरप्राइजस्वरुप आफ्नी श्रीमतीबारे पनि जानकारी दिएका थिए । यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा समेत उनकी श्रीमतीले छोटो भूमिकामा अभिनय गरेकी थिइन् ।

जीवनसंगिनीबारे पुस्कलले भनेका छन्, ‘उनी खासमा संगीत क्षेत्रकी होइनन् । बीएस्सी एग्रिकल्चर सकाएर मास्टर्स पढ्दै छिन् । वास्तवमा भन्नुभर्दा बिहेअघि उनले मलाई राम्रोसँग चिन्दा पनि चिन्दिनथिन् ।’ पुस्कल लोकदोहोरीमा निकै राम्रो ‘फ्यान फ्लोइङ’ भएका गायक मानिन्छन् ।

लोकदोहोरीमा विशेषगरी प्रेम विरहका गीतमा उनलाई स्रोता एवं दर्शकल निकै रुचाएका छन् । मिडियामा कमै आउने उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । उनका अन्य थुप्रै गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका छन् । उनी आफ्ना गीतमा प्रायः आफैं अभिनय समेत गर्दछन् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया