तानसेन। तानसेन नगरपालिकाले नेपालमै पहिलो पटक ब्रेल लिपीमा बजेट पुस्तिका प्रकाशन गरेको छ । नगर पालिकाले फरक क्षमता भएका दृष्टिबिहीन नागरिकमा समेत बजेट सम्बन्धी जानकारी र सूचना प्रवाह गर्न उद्देश्यले चालु आर्थिक वर्षको २०७८।०७९ को बजेट पुस्तक ब्रेल लिपीमा प्रकाशित गरेको जनाएको छ ।
फरक क्षमता भएका दृष्टिबिहीन नागरिककहाँ बजेट सम्बन्धी सूचना पु¥याउन नेपालमै पहिलो पटक आफूहरू यस्तो पुस्तक प्रकाशन गरेर सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए ।
नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम विभिन्न माध्यमबाट साधारण नागरिक मात्र नभएर सबै फरक क्षमता भएका दृष्टिबिहीन नागरिकका सामु पनि बजेटको सूचना पु¥याउने हाम्रो उद्देश्यले नयाँ अभ्यास गरिएको नगर प्रमुख शाहीले बताए । फरक क्षमता भएका नागरिकको चाहना र माग अनुसार बजेट पुस्तक ब्रेल लिपीमा प्रकाशित गरेको तानसेन नगरपालिकाले जनाएको छ ।
बजेट सम्बन्धी अपाङ्गमैत्री पुस्तक ब्रेल लिपीमा समेत प्रकाशित भएपछि आफूहरूलाई विभिन्न कार्यक्रमबारे जानकारी लिन सहज हुने तानसेनस्थित ब्रम्हाविष्णु आधारभूत विद्यालयका शिक्षक केशव अधिकारीले बताए । अहिलेसम्म आफूले दृष्टिबिहीनका लागि भनेर ब्रेल लिपीमा बजेट पुस्तक सार्वजनिक भएको थाहा नपाएको बताउँदै तानसेन नगरपालिकाले नेपालमै उदाहरणीय काम गरेको आफूहरूमाथि सम्मान गरेको अधिकारीको भनाई छ ।
नगरपालिकाले अपाङ्ग स्वाबलम्बन विकास केन्द्र, तानसेनको प्राविधिक सहयोगमा ब्रेल लिपीमा बजेट पुस्तक प्रकाशित गरेको जनाएको छ । नगरपालिकाले ब्रेल लिपीमा बजेट पुस्तक प्रकाशित गरेर फरक क्षमता भएका नागरिकलाई प्राथमिकता दिएकोमा कृष्ण पराजुलीले धन्यवाद दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा समेत पाठ्यपुस्तक नीजि प्रकाशनका प्रयोग बढेकाले आफूहरू ब्रेल लिपीका पुस्तक नपाएर समस्यामा परेको बताए ।
नगरपालिकाले नीजि क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक ब्रेल लिपीमा प्रकाशन गरेर सहयोग गर्न उनले आग्रह गरे ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नगरपालिकाले राम्रो कार्यको सुरुवात गरे पनि आर्थिक वर्षको आधाबढी समय बितेपछि माात्रै पुस्तक सार्वजनिक गरेको बताए ।
नगरपालिका उप प्रमुख लक्ष्मीदेवी पाठकको स्वागत तथा शाखा अधिकृत भरत आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।