तानसेन। नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले बनाएको सैनिक सङ्ग्राहलय पाल्पा दरबार सङ्ग्राहलय हस्तान्तरण गरिएको छ ।
लुम्विनी प्रदेश सरकार, गोरखदल गण र नेपाली सेनाको सहयोगमा निर्मित ‘सैनिक सङ्ग्राहलय’ लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्राहलयलाई हस्तान्तरण गरिएको हो ।
सैनिक सङ्ग्राहलयको निर्माण कार्य सकिएसंगै सैनिक संग्रहालय पनि पाल्पा दरबार सङ्ग्राहलयले नै संचालन र व्यवस्थापन गर्ने गरी बिहीबार एक कार्यक्रमका बीच गोरख दल गणका गणपति जनककुमार बस्नेतले डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

गणपति बस्नेतले सैनिक सङ्ग्राहलयको आवश्यक कागजातसहितको जिम्मेवारी पनि हस्तान्तरण गरेको बताए । पाल्पा दरबारभित्रै विगत दुई वर्षदेखि पाँच वटा कक्षमा सैनिक सङ्ग्राहलयको निर्माण भइरहेको थियो ।
सैनिक सङ्ग्राहलयभित्र नेपाल अङ्ग्रेज युद्धताका बेला नेपाली सेनाले प्रयोग गरेका घरेलु हतियार, बस्दोबस्तीका सामग्री, तोप, गोला, पोशाकलगायत सङ्ग्रह गरिएको छ ।
सेनाको विषयमा इतिहासदेखि वर्तमानसम्म अध्ययन् गर्ने स्वदेशी र विदेशीका लागि सैनिक सङ्ग्राहलय उपयुक्त स्थल बन्ने विस्वास गरिएको छ ।
पाल्पा दरबार संग्रहालयमा भित्र नेपाली सेनाको ऐतिहासिक जानकारीसंगै १२ जिल्लाका जातजातीको इतिहास, भेषभुषा झल्कने सामग्री सङ्ग्रह गरिएको छ । यस्तै लुम्विनी प्रदेशभित्रका ऐतिहासिक स्थल तथा पर्यटकीय स्थलको तस्वीरसमेत राखिएको छ ।



