तानसेन । प्रसिद्ध भैरवनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।
कोरोना संक्रमण बढेसंगै बन्द गरिएको मन्दिर संक्रमणमा केही कमी आएसंगै दर्शनका लागि खुला गरिएको हो ।
रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरनस्थानमा अवस्थित यो मन्दिरमा संक्रमण बढेपछि माघको पहिलो सातादेखि बन्द गरी नृत्य पुजा मात्रै हुँदै आएको थियो ।
हाल संक्रमणका केही कमी आएपछि स्वास्थ्य मापदण्डको पालना गरी पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिए ।
अहिले दर्शनार्थीले जनस्वास्थयका मापदण्डको पालनासंगै सकेसम्म कोरोना भाइरस विरुद्ध लगाएको खोप कार्ड देखाएपछि मात्रै दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए ।
यसैबीच यसअघि मन्दिर बन्द हुँदा रोट पकाएर दैनिकी चलाउने दर्जनबढी व्यवसायी समेत संकटमा परेकोमा मन्दिरमा भक्तजनको चहलपपहल बढेसंगै आफूहरुको दैनिकी सुरु भएका स्थानीय व्पारीहरुले बताएका छन् ।
भैरवनाथ मन्दिरमा दर्शन गर्नका लागि देशका विभिन्न जिल्लासंगै भारतबाट समेत बाक्लो रुपमा भक्तजनको उपस्थिती रहदै आएको छ ।