प्रेम दिवसमा रानीमहल सुनसान!

तानसेन। प्रेमको प्रतिकका रुपमा परिचित पाल्पाको रानीमहल प्रेम दिवसको दिन भने सुनसान बनेको छ ।

विगतका वर्षहरुमा प्रेम दिवसमा युवा यवतीले भरिने रानीमहल दरबारमा यो वर्ष कोरोना संक्रमण तथा प्रेम जोडीका लागि आर्कषण गर्ने नँया पूर्वाधार बन्न नसकेपछि सुनसान भएको हो ।

कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहलमा दरबार तत्कालीन राजा खड्गशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको हुँदा प्रेमिल जोडीका लागि राम्रो गन्तव्य मानिदै आएकोमा युवा पुस्ताको चासो पछिल्ला वर्षहरुमा घट्दै गएको पाइएको छ ।

अन्य स्थानमा नयाँ गन्तव्यको विकास भएको र रानीमहलमा दरबार घुम्ने र फोटो खिच्ने बाहेक खान र बस्नका लागि समेत उपयुक्त स्थान नभएको युवा पुस्ताको भनाई छ ।

पारिवारिक रुपमा दैनिक दुई सयदेखि ५ सयसम्मले अवलोकन गर्दै आएको रानीमहल दरबार प्रेम दिवसका दिनमा भने ४०/५० जनाले मात्रै अवलोकन गरेको रानीमहल अस्थायी प्रहरी चौकीले जनाएको छ ।

बाह्रै महिनाजसो देशका विभिन्न स्थान तथा विदेशिहरु समेत अवलोकनका लागि आउने यो दरबार हाल तानसेन नगरपालिकाले संचालन गर्दै आएको छ ।

स्थानीय तहले संग्रहालय समेत संचालन गरे पनि अध्ययन अवलोकनका लागि पर्याप्त सामग्रीको अभाव रहेको त्याहाँ पुग्ने पर्यटकहरुले बताउदै आएका छन् ।

यो दरबार १९५४ मा निर्माण सम्पन्न भएको थियो । दरबारमा २४ कोठासंगै दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा बस्ने तबेला, सित्तल पाटीलगायतका स्थानहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया