काठमाडौं । बलिउड सुपरस्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।
सलमानसहित बलिउड कलाकारहरु को केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्टका लागि नेपाल आउने पक्का भएको हाे ।
लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको थियो । तर तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो ।
सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ ।
वैशाख ३ गते काठमाडौंको दशरथ रंगाशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ । उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।
यसअघि सलमानका भाइ सोहिल खान नेपाल आएर सुरक्षा र सलमान बस्ने होटलको विषयमा जानकारी लिएर गएका थिए । आयोजकले सलमानको टुरले कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने विश्वास लिएको छ ।