तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले विद्युतीय राहदानी बनाउन सुरु गरेको छ ।

यसअघि मेसिन रिडेवल राहदानी जारी गर्दै आएको प्रशासनले विद्युतीय राहदानी (इ–पासपोर्ट) अनलाइन फारम जारी गरेको जनाएको छ ।

पाल्पामा पहिलो पटक डिजिटल विद्युतीय पासपोर्ट बनाउन सुरु गरिएको र सोही अनुसार विभागबाट सबै मेसिन जडान लगायतको काम थालिएको हो । विद्युतीय राहदानी वितरण सुरु भएपछि सेवाग्रहीले सेवा लिन सुरु गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

नयाँ पासपोर्ट लिने चाहनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिने प्रशासनले जनाएको छ । प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई इ–पासपोर्ट नै दिइनेछ ।

इ–पासपोर्ट लिनका लागि पुरानै प्रक्रिया अपनाउनुपर्ने भएपनि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य समावेश गर्नुपर्ने छ । राष्ट्रिय परिचयपत्र समावेश भएको विवरणहरू नै विद्यु्तीय राहदानीमा समावेश हुनेछन् ।

एमआरपीको तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने भएकाले यसको प्रयोगकर्ता बढ्ने विस्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया