पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

तानसेन। पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन ।

किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।

तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन् । प्रतिपरिवार रु १० हजारका दरले उठाएर च्याउखेती गरेका उनीहरको आर्थिक अवस्थामा सुधार आएको छ ।

तानसेनका व्यवसायी अनिल घिमिरेले रु दुई लाख पचास हजार लगानी गरेर च्याउखेती सुरु गर्नुभएको छ । अहिले उहाँको च्याउन फार्ममा रु पचास लाख बराबरको लगानी रहेको छ ।

पाँच सय काठका मुढाबाट च्याउखेती थालेका घिमिरेसँग अहिले पाँच हजार मुढा छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरु गरेका छन्। उनले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् ।

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बंैकमा बचत गर्न थालेका छन् ।

परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकामा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए।

यहाँ उत्पादन भएको च्याउ पाल्पाका विभिन्न स्थानसंगै बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री वितरण गरिन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको