
काठमाडाैं। काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।
पाल्पालगायत पश्चिम नेपालका जिल्लाहरुमा होली पनर्वका अवसरमा केहीदिन अघिदेखि नै फागु पूर्णिमासम्म उत्सवका रुपमा मनाउने प्रचलन रहेको छ ।
समुदाय स्तरमा सद्भाव र भाईचाराको महत्व झल्काउने यो पर्वमा फागु गाउँने नाच्ने गरेर आर्थिक संकलन गरी सामाजिक कार्य तथा मनोरञ्जन लिने प्रचलन रहेको छ । यसैबीच तराईमा भोली होली पर्व मनाउने गरिन्छ ।
कुन देशमा कसरी मनाइन्छ त फागु
फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रबर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ । नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ ।