विशालबजारमा पार्किङलाई एकतर्फी बनाईँदै

पाल्पा । लामो समयदेखि अस्तव्यस्त रहेको तानसेन विशालबजारको पार्किङको समस्यालाई समाधान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सक्रियता देखाएको छ ।

ट्राफिक कार्यालयले विशालबजारमा हुने गरेको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित बनाउन लागेको हो । सवारी पार्किङलाई व्यवस्थित बनाउने क्रममा विशालबजारमा पाँच वटा ट्राफिक सचेतना बोर्ड राखिएको छ ।

सदरमुकाम तानसेनमा विशालबजार सवारी पार्किङका हिसाबले अन्य स्थानभन्दा अव्यवस्थित मानिन्छ । गाउँबाट आउने जीप लगायतका सवारी साधन विशालबजारमा अव्यवस्थित रुपमा पार्किङ गरिँदै आएको छ ।

विशालबजार क्षेत्रमा एकतर्फी पार्किङ व्यवस्थापनका लागि पार्किङको २ वटा र नो पार्किङको ३ वटा बोर्ड राखिएको हो । तानसेन हुलाकदेखि दरबारसम्म (मखनटोल)मा एकतर्फी पार्किङ कार्यान्वयन भईसकेको छ । जुन प्रभावकारी समेत देखिएको छ । अन्य स्थानमा हुने गरेको अव्यवस्थित पार्किङलाई पनि व्यवस्थित गर्दै जाने जनाईएको छ ।

यस्तै, तानसेन बजारका सडक साँघुरो रहेकाले सवारी अवागमन सहज बनाउन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म माल बहाक सवारी साधन प्रवेशमा रोक लगाईएको छ । यसले तानसेन बजार क्षेत्रमा सवारी आवागमन सहज हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तस्वीरहरु : जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया