
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन बजार र तानसेन बतासेदेखि रानीमहलसम्मका होटलको अनुगमन गरेको छ। प्रशासनले खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, तानसेन र बगनासकाली गाउँपालिका लगायत खाद्यसंग सम्बन्धित संस्थाको सहभागितामा अनुगमन गरेको हो ।
दुई दिने अनुगमनका क्रममा म्याद गुर्जेका सामग्री बरामद गरेर नष्ट समेत गरेको छ । अनुगमनका क्रममा म्याद गुर्जेका पेय पदार्थ सुजी, मसलालगायतका सामग्री बरामद गरी नष्ट गरेको हो । प्रशासनले बतासेदेखि रानीमहलसम्म गरेको अनुगमनका क्रममा १८ वटा होटलहरुबाट बरामद भएको तेह्र हजारबढी मूल्यको सामग्री नष्ट गरिएको प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठले जानकारी दिईन् । यस्तै, तानसेनको बसपार्क क्षेत्रमा गरिएको अनुगमनका क्रममा दश हजार ५६५ मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको अधिकृत श्रेष्ठले बताईन्। जसमा खाद्य तथा पेय पदार्थ, मसलाजन्य बस्तुहरु रहेका छन् ।
अनुगमनका क्रममा मूल्य सूची, नराखेको, व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको, एकै स्थानमा दुई व्यवसाय संचालन गरेको तथा होटलहरुमा भान्सा सफा नगरेको जस्ता समस्या देखिएको हुँदा पहिलो चरणमा सुझाव दिइएको तथा पुनः यी कार्य दोहोरिएमा पसल नै शील गरिदिने चेतवनी दिइएको घरेलु तथा साना उद्योग कार्यालयका थमनबहादुर सारुले जानकारी दिए ।
यस्तै केही व्यवसायीहरुले मनशायगत रुपमै आम उपभोक्तालाई ठगी गरेको र नियमित अनुगमन नहुँदा व्यवसायीहरुले नियम कानुनका विषयमा वास्ता नगरेको भेटिएको अनुगमनका सहभागीले बताएका छन् । जसका लागि उपभोक्ता सचेतना र नियमित अनुगमन गर्नुपर्ने देखिएको पनि अनुगमनका सहभागीले बताएका छन् ।