
तानसेन। पाल्पाको रामपुरदेखि स्याङ्जा जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा रौतहटका २४ वर्षीय प्रेम धन पटेल, बाराका २२ वर्षीय राम निवास कुमार पटेल, बारा हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षिय धनन्जय ठाकुर, सोही स्थानका २१ बर्षिय सुजित कुमार यादब, ४८ वर्षिय रघुनाथ राव, २५ वर्षिय अनुप कुमार राव र क्रेन चालक मिरासन गाउँपालिका ४ गोरखाका २३ वर्षिय सृजन परियार रहेका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको स्थानीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतले दिएको जानकारी अनुसार घाईते मध्ये राम निवास कुमार र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको छ।
उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ । अन्य घाइतेहरुको युनाईटेड मिसन अस्पताल तानसेन उपचार भइरहेको प्रहरीले जनाएको छ।
रामपुर नगरपालिकाको वडा नं. ६ प्याकलुक र स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौर जोड्ने मोटरेबल पुल जोड्ने क्रममा गएराति भत्किएको हो । पुल भत्किँदा ८ जना कामदार घाईते भएका छन् ।
पक्की पुल निर्माणको क्रममा क्रेनको सहयताले फलामको बिम माथि उचाली कामदारहरुले बीम जोड्ने काम गरिरहेको अवास्थामा अचानक बीमसहित कामदारहरु खस्न जाँदा ८ जना घाईते भएका थिए ।