‘सन्तोष चलचित्र मन्दिर’ गोदाममा परिणत : हल सधैका लागि बन्द कि फेरि खुल्ला ? [फोटोफिचर]

पाल्पा । पाल्पा जिल्लाको एकमात्र चलचित्र हल ‘सन्तोष चलचित्र मन्दिर’ यतिबेला बन्द अवस्थामा छ । सदरमुकाम तानसेनको बिशालबजारमा रहेको हलको बाहिरी भित्तामा थोत्रा पोष्टरहरु छन् । पोष्टरमा दयाहाङ राई र बुद्धी तामाङको अनुहार देखेर अनुमान लगाउन सकिन्छ, त्यो ‘सेन्टीभाइरस’ चलचित्रको पोष्टर हो । यो चलचित्र कोरोना महामारी फैलिनुअघि प्रदर्शनमा आएको थियो । त्यसले प्रष्ट हुन्छ, त्यसयता हलमा कुनै अर्को चलचित्र प्रदर्शनमा आएका छैनन् ।

कोरोना महामारीयता चलचित्र क्षेत्रमा संकट आएपछि धेरै सिंगल थिएटरहरु बन्द भए । कोरोना महामारी मत्थर भएसँगै अधिकांश हलहरु खुले । तर, ‘सन्तोष चलचित्र मन्दिर’ भने हालसम्म संचालनमा आएको छैन । हललाई यतिबेला गोदाम बनाईएको छ । दर्शक बसेर चलचित्र हेर्ने स्थान बिस्कुट र चिप्सका प्याकेटहरुले भरिएका छन् । कोरोना महामारी मत्थर भएको लामो समयसम्म हल बन्दै अवस्थामा रहँदा पाल्पाका चलचित्रप्रेमी दर्शकमा जिज्ञासा छ, ‘अब हल खुल्ला कि नखुल्ला ?’ चलचित्र मन्दिरका संचालक सर्जुमान लिगलले नयाँधारसँग भने, – ‘अब पहिलेकै तरिकाबाट हल चलाउन खोजेर चल्दैन् । यथास्थितिमा हल चल्ने हामीले देखेका छैनौं । त्यसैले कसरी जाने ? के गर्ने भन्ने कुरामा हामीले छलफल गर्दैछौं ।’

उनले केही स्तरोन्नती गरेर हल संचालन गर्ने सन्दर्भमा सोँच बनाईरहेको बताए । ‘पाल्पाको एउटै हल हो । त्यसको सिटहरु परिवर्तन गर्ने, साउण्ड सिस्टम बनाउने, पर्दा परिवर्तन गर्ने लगायत हललाई अलिकति मेन्टेनेन्स गरेर नयाँ ढंगले चलाउँदा सम्भावना हुन्छ कि भन्ने सन्दर्भमा विचार गर्ने सोँच हो’ लिगल भन्छन्, – ‘यद्यपी बैशाखपछि मात्रै के गर्ने भन्ने निर्णय हुन्छ ।’ नयाँ ढाचामा हल संचालन गरिरहेका साथीहरुसँग छलफल गरेर मात्रै के गर्ने निर्णय हुने उनले नयाँधारसँग बताए ।

चार दशक लामो ईतिहास, घट्दो अवस्थामा थिए दर्शक
वि.सं २०३८ सालमा ‘सन्तोष चलचित्र मन्दिर’को स्थापना गरिएको थियो । हलमा ३४५ सिट क्षमता रहेको थियो । कुनै समय हलमा चलचित्र हेर्न गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो । टिकट नपाएर फर्किने दर्शकहरु समेत बाक्लै हुने गर्दथे । यस हलमा थुप्रै चलचित्रले ५१ दिन समेत मनाएका छन् । तर, पछिल्ला केही वर्षयता भने दर्शकको संख्या घट्दै गएको थियो । कोरोना महामारी अगाडि पनि १०–१५ जना मात्र दर्शक आउने गरेका थिए ।

तस्वीरहरु : कमल अधिकारी/नयाँधार

तपाईको प्रतिक्रिया