आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडाैं। निर्वाचन आयोगले  शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।आयोगले आगामी स्थानीय निर्वाचनका लागि राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि  आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो ।

आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो ।

आचारसंहिता लागू भएपछि वार्षिक वजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लग्नेछ ।

आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

उम्मेदवारले ‘ए ४’ आकारको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न मिल्छ । निर्वाचन प्रचारप्रसारको काम पनि बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । भित्तेलेखन गर्न, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सवारीसाधन प्रयोग गर्नसमेत आचारसंहिताले रोक लगाएको छ । प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोगमा भने रोक लगाइएको छैन । तर प्रचारप्रसारका लागि दलका दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने संहितामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया