तानसेन । पाल्पामा चैत २३ गतेदेखि सुरु भएको टाइफाइड विरुद्धको खोप अभियानमा हालसम्म ७० प्रतिशत बढीले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाले दशै स्थानीय तहमा गरी ७ सय ८० खोप केन्द्रबाट संचालन गरेको अभियानमा हालसम्म ४९ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।
बालबालिकाको वार्षीक परीक्षालाई लक्षित गरी सरकारको तोकेको समयभन्दा अघिदेखि नै खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
चैत्र मसान्तभित्रै अभियान सक्ने गरी जिल्लाका सबै खोप केन्द्रबाट तिव्र गतिमा अभियान संचालन भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । यो तथ्यांक शनिबारसम्मको हो ।
अहिले संचालन भएको अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको रछुटेकालाई पुनः स्वास्थ्य संस्थामार्फत तथा बैशाखदेखि नियमित खोपकै रुपमा लगाउने पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम रहेकोमा ४९ हजारबढी बालबालिकाले खोप लगाइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अभियानलाई सफल पार्न १८३ जना स्वास्थ्यकर्मी, ६२२ जना स्वास्थ्य स्वयम्सेविका, १ हजार ७५ जना स्वयम्सेवक, ८१ जना सुपरीवेक्षक, ४५३ जना शिक्षकलाई खटाइएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।