
तानसेन। सरकारले प्रत्येक १०।१० वर्षमा गर्दै आएको कृषि गणना पाल्पामा पनि सुरु भएको छ। सातौं कृषि गणना अन्तरगत जिल्लाका दश स्थानीय तहमा कृषि सम्बन्धि गणना गर्नका लागि ६१ जना गणक र १६ जना सुपरीवेक्षक खटिएका छन् ।
जिल्लाभर गरी एक सय ६४ क्षेत्रमा विभाजन गरी कृषि सुरु गरिएको कृषि गणना अधिकृत भविश्वर घिमिरेले जानकारी दिए । दश स्थानीय तहका ८० वटा वडा मध्ये तानसेन नगरभित्रका ४ वटा बाहेक सबै वडामा कृषि गणना गरिने पनि अधिकृत घिमिरेले जानकारी दिए ।
जस अनुसार रामपुरमा २०, तानसेनमा १६, निस्दी र माथागढीमा १७।१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोटमा १५।१५, रैनादेवी छहरामा १८ र बगनासकालीमा १६ गणना क्षेत्र तोकिएको छ ।
जिल्लाका चार हजार एक सय कृषक परिवारको तथ्याङ्क लिइने तथ्याङ्क कार्यालयले जनाएको छ । गणनाको लागि गणक र सुपरीवेक्षकलाई तालिम दिएर गाउँगाउँमा खटाइएको छ ।
हाल हरेक स्थानीय तहमा ६ देखि ७ जना गणक र १ देखि २ जना सुपेरीवेक्षक खटिएका छन् । वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ ।
तथ्याड्क संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । सातौँ कृषि गणनामा गणकले संकटमा रैथाने पशुपक्षीको तथ्याड्ढ, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याड्ढ संकलन गर्ने छन् ।
राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई मुख्य २४ प्रश्न सोधिन छ । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याड्क संकलन गरिने छ ।
यसअघि विसं २०६८ मा कृषि गणना गरिएको थियो भने नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।