तानसेन।नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन् । निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको नेकपा एमाले तानसेन नगर प्रमुख गुराँस आत्रेयले जानकारी दिए ।

यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाल र रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेदवार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ ।

अहिले वडा अध्यक्ष र उपाध्यक्षको टुंगो लगाउन बैठक जारी रहेको छ। पाल्पामा शनिबार मात्रै सत्ता साझेदार दलहरुको बैंठकले प्रमुख र उप प्रमुखको भागबण्डा गरेका थिए।

तपाईको प्रतिक्रिया