तानसेन। पाल्पामा दुई जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा नेकपा एमालेबाट सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी भिमीसरा आले र वडा नंं ५ बिरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन।
पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दिएको जानकारी अनुसार दुवैको एकल उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचत भएका हुन् ।
यसैबीच निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले जनाएको छ ।