पाल्पामा पुरुष भन्दा ६ हजार ३३० बढी महिला मतदाता

तानसेन। आसन्न स्थानीय तह सदस्य निर्वाचनमा पाल्पाबाट मतदान गर्ने पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जम्मा एक लाख ९९ हजार ६९० जना मतदातामध्ये छ हजार ३३० जना महिला मतदाता बढी रहेका छन् ।

जसमा एक लाख तीन हजार १० जना महिला मतदाता रहेको र ९६ हजार ६८० पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मागत अर्यालले जानकारी दिए ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा तिनाउ गाउँपालिका बाहेकका सबै स्थानीय तहमा महिला मतदाताको सङ्ख्या बढी रहेको प्रमुख अर्यालले बताए ।

तिनाउ गाउँपालिकामा पुरुष मतदाता सात हजार २४५ छन्  भने महिला मतदाता सात हजार १४१ जना रहेका छन् ।

यस्तै तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भा गाउँपालिकामा ६८७, पूर्वखोला गाउँपालिकामा ६४०, माथागढी गाउँपालिकामा ३८७, रिब्दीकोट गाउँपालिकामा ३७३, रैनादेवी छहरा गाउँपालिकामा १६७ र निस्दी गाउँपालिकामा ९३ महिला मतदाता बढी रहेका जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया