
काठमाडौं । पाल्पा चलचित्र छायाँकनका लागि रोजाइमा पर्दै गएको छ । डेढ वर्षअघि मात्रै पाल्पामा चलचित्र ‘परदेशी २’को छायाँकन गरिएको थियो । त्यसअघि त्यसअघि पनि राधे, पिपल, छक्का पञ्जा २, गोर्खा पल्टन जस्ता थुप्रै चलचित्र पाल्पामा छायाँकन गरिएका छन् । अब अर्को एउटा नयाँ चलचित्र पनि पाल्पामा छायाँकन हुने भएको छ ।
चर्चित सञ्चारकर्मी एवं उद्घोषक दिनेश डिसीको निर्देशनमा बन्ने चलचित्र ‘सर्वजित’को पाल्पामा छायाँकन हुने भएको हो । प्र्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारमात्रै यो चलचित्रको शुभ मुहूर्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् । यो चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा निर्माण हुन लागेको हो ।
नेपालमा लैंगिक तथा जातीय विभेदको विरुद्धमा कार्य गर्दै आएको दलित महिला केन्द्रले चलचित्र निर्माण गर्न लागेको हो । १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
रणिन्द्र बराइलीले लेखेको पुस्तकमा आधारित कथा, जनक खड्काको पटकथा रहने चलचित्रमा मोहन निरौलाको संवाद रहनेछ । चलचित्रमा शौरभ लामाको छायाँकन, एन वि. महर्जनको द्वन्द्व, एलिश कार्कीको पार्श्व संगीत, नहकुल खड्काको सम्पादन रहनेछ ।
भदौबाट छायाँकनमा जाने भनिएको चलचित्रका लागि कलाकारहरू भने केही समयपछि मात्रै सार्वजनिक गर्ने जनाइएको छ । चलचित्र बागलुङ, पोखरा, वनारस, काठमाडौंसँगै पाल्पामा पनि चलचित्र छायाँकन गरिने निर्माण टिमले जानकारी दिएको हो ।
चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ । चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।