काठमाडौं। पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

२ मिनेट ३९ सकेन्डको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ ।

‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको छ । नेपाली युवापुस्ता माझ हुर्किएको विदेश सपनालाई टिजरमा प्रस्तुत गरिएको हो । टिजरमा एउटा संवाद छ, – आजभोलीका केटाकेटी, रोकेर रोक्न सकिन्छ क्यारे ! जन्मेकै विदेश जानको लागि जस्तो गर्छन् ।

अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

सार्वजनिक टिजरमा पाल्पाली कलाकारहरु समेत देखिएका छन् । चलचित्रको पाल्पाको माथागढी गाउँपालिकाको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा छायाँकन गरिएको थियो ।

चलचित्र छायाँकनका लागि निर्देशक रायमाझी, अभिनेता दीलिप, प्रशान्त, प्रकाश सपूत, अभिनेत्री केकी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पामा आएका थिए । पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरेका थिए । दुबै चलचित्र अत्यन्तै प्रतिकूल समयमा प्रदर्शनमा आएपनि सुपरहिट भएका थिए ।

बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ ।

ईश्वर घिमिरे/रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भी.एफ.एक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन र ५.१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गरेका छन् ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्तो हिट चलचित्र दिएको ब्यानर, हिट चलचित्रको सिरिज,प्रकाशको डेब्यू चलचित्र, स्टार कलाकारहरुको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’ प्रतिक्षित छ ।

चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

 

तपाईको प्रतिक्रिया