पाल्पाली लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्धारा सम्मानित

काठमाडौं । चर्चित लोकगायक नवीन पौडेल बागमती प्रदेश सरकारद्धारा सम्मानित भएका छन् । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत प्रदेश सरकारले ‘कलाकीर्ति’ पदकद्धारा सम्मान गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएवापत विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुन लगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवी एवं पदकद्वारा सम्मान गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गायक पौडेल पदक र सम्मानपत्र प्रदान गरेका थिए ।

पाल्पामा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशिको बागमती प्रदेश स्तरीय बागमती प्रादेशिक प्रतिभा पुरस्कार’ र केही समयअघि ‘लेउ खुकुरी लेउ’ बोलको भ्रष्टाचार बिरोधी गीत गाएवापत अमेरिका स्थित हेम– सरिता फाउन्डेसनबाट एक हजार डलर राशीसहित भ्रष्टाचार बिरोधी गीति पुरस्कार प्राप्त गरेका थिए ।

२ दशकदेखि नेपाली लोक संगीतमा सक्रिय पौडेलले डेढ सय बढी गीतमा स्वर दिएका छन् । उनले मनोरञ्जनका साथै चेतनामूलक गीतहरु समेत गाउँदै आएका छन् । उनका धेरै गीतहरु हिट छन् ।

तपाईको प्रतिक्रिया