तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ : बन्द होइन्, स्तरोन्नती गरेर संचालनमा ल्याइँदै

काठमाडौं। पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नती गरेर संचालनमा ल्याईने भएको छ ।
जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारी सुरु भएसँगै ०७६ को चैतदेखि बन्द अवस्थामा छ ।

नेपालकै पुरानोमध्येको हल अब स्तरोन्नतीसहित संचालनमा आउने भएको हो । हलका संचालक सर्जुमान लिगलले स्तरोन्नतीको काम सुरु भईसकेको जानकारी दिए ।

‘पहिलेकै अवस्थामा चल्ने देखिएन् । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नती गर्दैछौं’ लिगलले भने, ‘स्तरोन्नतीको काम सुरुवात गरिसकेका छौं । ५÷६ महिनामा सकिएला ।’
स्तरोन्नतीका लागि धेरै खर्च गर्ने मनस्थितिमा भने उनी छैनन् । ‘काठमाडौं, बुटवलजस्तो धेरै खर्च गरेर चलाउने ठाउँ पाल्पा होईन् । चल्दापनि चल्दैन्’ लिगलले भने ।

हलका सिटहरु परिवर्तन गर्ने, साउण्ड सिस्टम स्तरीय बनाउने, स्क्रिन परिवर्तन गर्ने लगायत हललाई अलिकति मेटेनेन्स गरेर नयाँ ढंगले संचालनमा ल्याइने लिगलले बताए । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन सुरुवात गरेका थिए ।

दिउँसोमा पढाई हुने स्कूलमा साँझको समय चलचित्र चल्थ्यो । उक्त समय नेपाली चलचित्रहरु भने विरलै आउँथ्यो । ३० को दशकदेखि विशालबजारमा ‘सन्तोष चलचित्र मन्दिर’संचालनमा आएको हो । ‘कान्छी’, ‘सिन्दुर’ लगायतका थुप्रै चलचित्रहरु यस हलमा महिना दिनभन्दा बढी चलेका छन् । एक दशकअघिसम्म हलमा चलचित्र हेर्न दर्शकको बाक्लो भीड लाग्ने गर्दथ्यो ।

चलचित्र हेर्न पाल्पा मात्र नभई छिमेकी जिल्लाका गाउँगाउँबाट समेत मानिसहरु तानसेन आउँथे । टिकट काटन तछाडमछाड देखिन्थ्यो । चलचित्र हेर्न तानसेन आउने दर्शकले बजारको चहलपहल समेत बढाउँथ्यो । २०७२ सालतिबाट भने दर्शकहरु क्रमश घटेको हल संचालक लिगल बताउँछन् । त्यसयता दर्शकको उपस्थिति पातलो हुँदा कोरोनाअघि नै हल बन्द हुने अवस्थामा पुगिसकेको थियो ।

‘कोरोनाअघिदेखि नै संकटमा चलिरहेको थियो । हलमा दर्शकको उपस्थिति नै निकै कम हुने गरेको थियो’ लिगलले भने, ‘त्यतिबेला नै अब समयानूकूल बनाउनुपर्छ भनेका थियो । कोरोना महामारी शुरु भएर बन्द भयो । अहिले कोरोना मत्थर भएपछि स्तरोन्नतीको काम थालेका हौं ।’ सुनसान बन्दै गएको जिल्लालाई गुल्जार बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै आफ्नो तर्फबाट हल स्तरोन्नती गरेर संचालनमा ल्याउन लागेको लिगलले बताए ।

‘पहिले–पहिले पाल्पा आउनेहरु चलचित्र हेर्न जाने भनेर समेत आउँथे । त्यसबेला बजार गुल्जार देखिन्थ्यो’ उनले भने, ‘त्यो बेला मनोरञ्जनको साधन पनि हल थियो । अहिले त हातहात, घरघरमा मनोरञ्जनका साधनहरु पुग्यो । तरपनि, हल चलायो भने दर्शकका रुपमा आउँदा तानसेनमा पनि केही चहलपहल हुने, हल पनि चलिराछ भन्ने देखिन्छ भनेर स्तरोन्नती गर्न लागेका हौं ।’

पाल्पामा संचालनमा रहेको एकमात्र हल बन्द भएपछि कतिपय चलचित्रप्रेमी पाल्पाबासीहरु चलचित्र हेर्न बुटवल पुग्ने गरेका छन् । बारुदखान निवासी विज्ञान बज्राचार्यले तानसेनमा हल संचालनमा नहुँदा आफू साथीहरुसँग बुटवल पुगेर ‘कबड्डी ४’ चलचित्र हेरेको बताए ।

पाल्पा चलचित्र छायाँकनका निर्देशक एवं निर्माताको नजरमा भने विगतदेखि नै पर्दै आएको जिल्ला हो । पछिल्लो समय पनि पाल्पामा एकपछि अर्को चलचित्रहरु छायाँकन हुँदै आएका छन् । पाल्पामा छायाँकन गरिएको ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा आउँदैछ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer