
काठमाडौं – पाल्पाको माटोले जन्माएको लोकप्रिय गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘श्रीमान श्रीमती’ शीर्षकको तीज गीत ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
पुस्कलले पाल्पास्थित आफ्नै गाउँ र त्यस वरपर छायाँकन गरेर गीत सार्वजनिक गरेका हुन् । उनले यसपटक फेरी निकै मार्मिक तीज गीत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कललाई स्वरमा लोकप्रिय गायिका शान्तीश्री परियारले साथ दिएकी छिन् ।
पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतको अडियो मार्मिक छ । त्यो भन्दा भिडियोलाई पुस्कलले निकै मार्मिक बनाउने प्रयास गरेका छन् । पुस्कल स्वयंमकै कथा एवं निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा पुस्कल आफ्नै श्रीमती सवि शर्मासँग प्रस्तुत छन् । दुबैले भिडियोमा मनछुने अभिनय गरेका छन् । पुस्कलकी श्रीमती सविले यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा छोटो भूमिकामा अभिनय गरेकी थिइन् भने ‘तिम्रो थर मेरो थर’बाट पुस्कलसँगै मुख्य मोडलका रुपमा अभिनय गरेकी थिइन् ।
टिकटकमा समेत निकै हिट भएको ‘तिम्रो थर मेरो थर’ले यतिबेला युट्युबमा ६१ लाख बढी भ्युज पाईसकेको छ । ‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो दीपक विष्टको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतले स्रोता दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । धेरैले गीतलाई मार्मिक भनेका छन् । पुस्कल लोकदोहोरीमा निकै राम्रो ‘फ्यान फ्लोइङ’ भएका गायक एवं सर्जक हुन् ।
मिडियामा कमै आउन रुचाउने उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । ‘श्रीमान श्रीमती’ बोलको गीतले पनि आफ्ना अघिल्ला गीतले जस्तै स्रोता दर्शकको मन जित्ने विश्वास पुस्कलमा छ ।