सुमन गैरे

पाल्पा । चर्चित कलाकारहरुलाई ल्याएर गरिने मेला–महोत्सवको तयारीमा कति समय खर्चिनुपर्ला ? विगतमा हुने पाल्पा महोत्सवलाई नै हेर्ने हो भने कम्तिमा पनि एक महिना । तर, पाल्पामा एउटा महोत्सवको तयारी गरिएको छ, एकदमै हतारमा । माथागढी गाउँपालिका –३ सराईमा ‘प्रथम सराई महोत्सव–२०७९’ हुन लागेको छ । सराई युवा क्लबको आयोजनामा भदौं २३ गतेदेखि असोज ६ गतेसम्म सराई खेलमैदानमा महोत्सव हुन लागेको छ । तर, २ साता लामो समय हुन लागेको महोत्सवको जानकारी भने पाल्पालीले एक साता अघिमात्रै पाएका छन् । त्यो पनि कलाकारहरुको फोटो प्रयोग गरिएको, ब्यानरबाट । गत बिहीबार महोत्सवका आकर्षकहरु भनेर ३ दर्जन बढी कलाकारहरुको फोटोसहित ब्यानर तयार पारेर प्रचारप्रसार गरिएको छ । जसमा प्रकाश सपूत, दुर्गेश थापा, प्रमोद खरेल, पशुपति शर्मा, बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, लाहुरे, देबेन्द्र बब्लुदेखि प्रीति आले, रचना रिमाल, एलिना चौहानलगायत थुप्रै कलाकारहरू छन् ।

तर, उक्त व्यानरमा राखिएका कलाकारहरुमध्ये धेरैलाई उक्त महोत्सवबारे जानकारी नै नभएको समेत पाईएको छ । कलाकारहरूलाई जानकारी नै नगराई व्यानरमा उनीहरूको फोटो प्रयोग गरेको पाइएको हो । महोत्सवबारे धेरै कलाकारहरूसँग बुझ्दा उनीहरूले अनविज्ञता प्रकट गरेका छन् । ‘मलाई त यसबारे केही जानकारी छैन । पोष्टरमा फोटो देख्दा म आफैँ अचम्ममा परेको छु’ व्यानरमा भएका एक चर्चित गायकले भने । व्यानरमा उल्लेख भएअनुसार महोत्सवको समन्वयकर्तामा माथागढी गाउँपालिका छ । त्यस्तै मेला व्यवस्थापकमा सिद्धबाबा एक्जिबिसन र सहयोगीमा ए एण्ड ए म्यानेजमेण्ट प्रालि छ । सिद्धबाबा एक्जिबिसनले धेरै स्थानमा मेलाको व्यवस्थापन गर्दै आएको छ । यस मेलामा पनि स्टल व्यवस्थापनदेखि कलाकारहरु सबैको बन्दोबस्तो गर्ने सोही सिद्धबाबा एक्जिबिसन रहेछ ।

सराई युवा क्लबका अध्यक्ष कृष्ण सारुले आफूहरुले महोत्सव व्यवस्थापनको जिम्मा सिद्धबाबा एक्जिबिसनलाई दिएको बताए । सो कारण कलाकारहरुलाई जानकारी गराईयो÷गराईएन आफूलाई जानकारी नभएको उनले बताए । कलाकारदेखि स्टल व्यवस्थापन लगायत सम्पूर्ण जिम्मा नै सिद्धबाबा एक्जिबिसनमा रहेको सारुले बताए । ‘उक्त संस्थासँग मेरो मात्र होइन्, धेरै कलाकारहरुको सम्बन्ध राम्रो छ । तर, मेला गर्दा पोष्टर तयार पार्नुभन्दा अगाडि एकपटक कुरा त गर्नुपर्ने हो’ –एक लोकदोहोरी गायक गुनासो गर्छन् ‘बोलौं अरु मेलामा नबोलाउने हुन भन्ने पीर, नबोलौं यसैगरी मनपरी गर्छन् ।’

हतारको मेला, क्लब–नाम मात्रको आयोजक !
हतारमा किन महोत्सव गर्न लागिएको होला ? यतिबेला धेरै पाल्पालीको जिज्ञासा छ । क्लबका अध्यक्ष कृष्ण सारु सिद्धबाबा एक्जिबिसनका प्रतिनिधि महोत्सवको प्रस्ताव लिएर आएको र आफूहरुले कागजी प्रक्रिया र अन्य आवश्यक सहयोग गर्ने, त्यसबापत केही रकम दिने सम्झौतामा महोत्सव गर्न लागिएको जानकारी दिए । नाफाघाटासँग क्लबलाई सरोकार नहुने र केही रकम क्लवलाई आउने भएपछि हतारमा महोत्सव गर्न लागिएको उनको स्वीकारोक्ति छ ।

‘महोत्सवको प्रस्ताव लिएर सिद्धबाबा एक्जिबिसनका प्रतिनिधि हामीकहाँ आउनुभएको हो । हामीहरुले मेलाको लागि स्वीकृतिदेखि आवश्यक सहयोग गर्ने र त्यसबापत क्लवलाई ४ लाख ५० हजार रुपैयाँ दिने सम्झौता हो’ सारु थप खुलाउँछन्, ‘५० हजार महोत्सवभन्दा पहिले र अरु महोत्सव अवधिभरमा दिने सम्झौता हो । उहाँहरु एक्कासी प्रस्ताव लिएर आएको र क्लवलाई पनि फाइदा हुने त्यसमाथि आफ्नो गाउँठाउँको पनि प्रचारप्रसार हुने भएकाले महोत्सव गर्न राजी भएका हौं ।’ उनी आफूहरुले पहिलोपटक महोत्सव गर्न लागेको हुनाले केही कमीकमजोरी भएको भने स्वीकार्छन । स्थानीयहरु पनि क्लबले आफ्नो एकलौटी स्वार्थ हेरेर अपरिपक्क तरिकाले हतारमा महोत्सव गर्न लागेको आरोप लगाउँछन् ।

माथागढी गाउँपालिकाका जनप्रतिनिधि पनि क्लबले अपरिपक्क तरिकाले महोत्सव गर्न लागेको बताउँछन् । एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा नयाँधारसँग भने, –‘युवा क्लबलाई ४ लाख दिने रे ! अरु सबै त्यही व्यवस्थापकलाई रे ! यस्तो अपरिपक्क तरिकाले पनि कहीँ महोत्सव हुन्छ ?’ आफ्नो ठाउँ, स्थानीय उत्पादन, कला संस्कृतिसँगै स्थानीय प्रतिभाहरुलाई बाहिर चिनाउमा यस्ता मेला महोत्सवको ठूलो भूमिका हुने तर त्यसका लागि हतारमा महोत्सव गरेर नहुने ति जनप्रतिनिधि बताउँछन् । यसरी हतारमा गरिएको महोत्सवबाट ति कुराहरुको अपेक्षा पनि राख्न नसकिएको उनले भनाई छ ।

स्थानीय कलाकारहरु असन्तुष्ट
महोत्सवलाई लिएर स्थानीय कलाकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् । महोत्सवको ब्यानर फेसकुबमा सार्वजनिक भएपछि स्थानीय कलाकारहरुले असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पाल्पाकी अध्यक्ष रेखा कार्की विष्टले महोत्सवबाट आफूले पोष्टर सार्वजनिक भएपछि जानकारी पाएको बताईन् । रेखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘हाम्रो पाल्पाली कलाकार गाउन सक्ने धेरै हुनुहुन्छ । तर हामीले न त कुनै जानकारी नै पाईयो । नत हाम्रो पाल्पाली कलाकारको फोटो, नाम नै देखियो ।’ उनले जिल्लामा महोत्सव गर्दा त्यो जिल्लाका कलाकारहरु चिन्न जरुरी रहेको समेत बताएकी छिन् ।

पाल्पाली कलाकार शिव भट्टराई भने आयोजक नाम मात्रका हुन् भन्ने सराईमा हुन लागेको महोत्सव एक उदाहरण भएको बताउँछन् । उनी भन्छन्, ‘बोले धेरै हुन्छ । ठेकेदारले महोत्सव गर्छन्, आयोजक नाम मात्रका हुन्, यो एउटा उदाहरण मात्र हो ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पाल्पाका सचिव कमल भट्टराई जिल्लामा हुन लागेको महोत्सवमा स्थानीय कलाकारहरुलाई नसम्झिँदा दुःख लाग्ने गरेको बताउँछन् । ‘महोत्सव जसले गर्न पायो त्यसमा विरोध होइन् । हामीलाई बोलाउनै पर्छ भन्ने पनि होइन् । तर जिल्लामा महोत्सव गर्दा लोकदोहोरी प्रतिष्ठानलाई जानकारी नै नहुनु र स्थानीय कलाकारहरु नसमेटिँदा दुःख चाहिँ लाग्दो रहेछ’ भट्टराईले भने । जिल्लाका अन्य थुप्रै कलाकारहरुले समेत महोत्सवलाई लिएर असन्तुष्टि जनाएका छन् ।

तपाईको प्रतिक्रिया