काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ ।
घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी खेलेका थिए ।
भुर्तेलले पाएको रोहितकुमार पौडेलको बलियो साथ अनि बलिङतर्फ करण केसीको ५ विकेट नेपालको जितको आधार रहे ।
कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका माइकल भान लिगेनले बनाएको १३३ रनसमेत छायामा पर्यो ।