तानसेन। १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि तानसेनले जितेको छ । १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि चुमेको हो ।
तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए। यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा उपविजेता बनेको छ । रामपुरले ६ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ कास्य र ४ रजत गरी १६ पदक प्राप्त गरेको छ ।
सान्तवना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ कास्य र ४ रजत गरी १० पदक हात पारेको छ ।
यस्तै पूर्वखोलाले ३ स्वर्ण, ४ कास्य र ५ रजत पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस्तै रैनादेवी छहराले २ स्वर्ण, २ कास्य र ३ रजत गरी ७ पदक पाएको छ । यस्तै बगनासकालीले १ स्वर्ण, २ कास्य र ७ रजत पदक पाएको छ भने रिव्दीकोटले १ स्वर्ण, १ कास्य, २ रजत पाएको छ । यस्तै निस्दी गाउँपालिकाले १ स्वर्ण र रजत ५ पदक पाएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तिलक थापाले जानकारी दिए ।
समापन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए। देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राखे । कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्न सकिने धारणा राखे उनले माथागढीको सराई क्षेत्रलाई जिल्लाकै नमूना खेलमैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
यस्तै लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि खेल शिक्षक तथा खेल प्रशिक्षण विद्यालयसम्म पुग्नुपर्नेमा जोड दिए। उनले खेल क्षेत्र अहिले पनि राज्यबाट उपेक्षामा परेको भन्दै त्यसलाई सरकारले महत्व दिएर मात्र खेल क्षेत्रमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले खेलकुद क्षेत्रको विकासमा पालिकाले विशेष ध्यान दिने बताउँदै स्थानीय बासिन्दाको सहयोगले रनिङ्ग शिल्ड प्रतियोगिता सफल भएको बताए।
कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी, तानसेन वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्याललगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।
प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल भएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी खेलकुद विकास समितिका कार्यालय प्रमुख खुमबहादुर बयम्बुले जानकारी दिए। पाल्पामा तानसेनभन्दा बाहिर माथागढी गाउँपालिकाको सराई खेल मैदानमा पहिलो पटक प्रतियोगिता भएको हो ।
समापन समारोह खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेको अध्यक्षता र भरत शर्माको संचालनमा सम्पन्न भएको हो । खेलमा ५०० खेलाडी, ५० खेल प्रशिक्षक तथा ५० आयोजक गरी ६०० बढीको सहभागिता रहेको थियो ।