नामिबियालाई पछि पार्दै १६औं स्थानमा उक्लियो नेपाल

काठमाडौं। आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।

नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंलाको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स(१४औं) र ओमान (१५औं) स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया