नेपालले विश्वकप छनोटमा यी टिमसँग प्रतिस्पर्धा गर्नेछ

काठमाडाैं। नेपालले लिग-२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। अन्तिम १२ खेल बाँकी रहदासम्म नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा थियो। तर पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो।

अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँ नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग-२ का तीन टिम पुगेका छन्।

टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ। सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ।

अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ। यद्यपी तीन टिमले बाँकी रहेका आफ्ना खेल जिते सुपर लिगको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्न सक्नेछन्।

विश्वकप छनोट- २०२३

  • टिम १ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
  • टिम २ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
  • टिम ३ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका,  आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
  • नेदरल्यान्ड्स –  सुपर लिगको पुछारको पाँच मध्ये एक
  • जिम्बावे – सुपर लिगको पुछारको पाँच मध्ये एक
  • स्कटल्यान्ड – लिग-२ को विजेता
  • ओमान – लिग-२ को उपविजेता
  • नेपाल- लिग-२ को तेस्रो टिम
  • टिम ९- क्वालिफायर प्लेअफको शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)
  • टिम १० – क्वालिफायर प्लेअफ शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)

सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया