लोक दोहोरी गीत प्रतिष्ठानको भित्तेपात्रो विमोचन

पाल्पा।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशले २०८० सालको भित्ते पात्रो विमोचन गरेको छ । प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा बिहीबार पाल्पाको तानसेनमा भित्तेपात्रो विमोचन गरिएको हो ।
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खीमबहादुर हमालले भित्ते पात्रोको विमोचन गरेका हुन् ।

भित्तेपात्रोको विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका केन्द्रीय सल्लाहकार हमालले कला संस्कृति राष्ट्रको गहना भएको हुँदा यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेको बताए । उनले कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउनुपर्ने भन्दै कला संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

विशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रीय सचिव दीपक गरौजाले संस्थागत विकासका लागि सबै कलाकार एकजुट हुनुपर्ने बताए । केन्द्रीय सह–सचिव सिता रानाले संस्था बलियो बनाउन रचनात्मक काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, तानसेन–६ का वडा अध्यक्ष सागरमान महर्जन, बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी अधिकारी, हाँस्यकलाकार किरण चित्रकार, पत्रकार महासंघ पाल्पाका सचिव तथा प्रतिष्ठानका सल्लाहकार यज्ञमूर्ति तिमिल्सीना, नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुराँस आत्रेय, नेपाली काँग्रेसकी नेतृ शान्ति झेडी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, प्रतिष्ठान पाल्पाका सल्लाहकार रामचन्द्र रायमाझी, प्रतिष्ठान पाल्पाका संस्थापक उपाध्यक्ष दिनेश रावल, प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराई लगायले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरको अध्यक्षता, सचिव योगराज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा आउँदै गरेको नयाँ वर्षको शुभकामनासमेत आदान–प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया