तत्काल बुस्टर डोज लगाउन विज्ञको सुझाव

काठमाडौं। मंगलबार १०६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पुसयता कोरोना संक्रमणबाट भएको पहिलो व्यक्तिको मृत्यु हो ।

२८ चैतमा मृत्यु भएका ७८ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मधुमेहका बिरामी थिए । उनको वीर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भयो । मन्त्रालयका अनुसार संक्रमितको संख्या मात्र होइन, गम्भीर बिरामीको संख्या पनि बढेको छ ।

दुई हप्ता अगाडिसम्म देशभर आईसीयूमा भर्ना हुने संक्रमितको संख्या शून्य थियो । मंगलबार आईसीयूमा १३ र भेन्टिलेटरमा ५ उपचाररत छन् । चिकित्सकका अनुसार खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पताल भर्ना गर्नु परेको पाइएको छ ।

हाल वीर अस्पतालमा एचडीयू र आईसीयूमा गरी १० जना कोरोना संक्रमित उपचाररत छन् र सबै ज्येष्ठ नागरिक वा दीर्घरोगी छन् । ‘अहिले अस्पताल भर्ना भएका धेरै दीर्घरोगी छन्’ वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले भने, ‘खोप नलगाएका मानिसमा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि दीर्घरोगी संक्रमित भएको पाइएको छ । केही व्यक्तिले त खोप समेत नलगाएको भेट्टाइएको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे दम, क्यान्सर, मिर्गौला, कलेजो लगायतका समस्यासँग जुधिरहेको दीर्घरोगी भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको बताउँछन् ।

‘कतिपय बिरामी जटिल भएपछि अस्पताल आइपुगेका छन् । त्यसमाथि उनीहरूको उमेर सँगै दीर्घरोगका बिरामी भएकाले तत्काल नै आईसीयूमा राख्नुपरेको छ’, उनले भने ।

अस्पतालमा भर्ना र मृत्युको जोखिम टार्न नियमित मात्रा कोरोना खोप लिएपछि पनि अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउनुपर्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पूर्ण खोप लगाउनेको संख्या ८३.१ प्रतिशत छ ।

चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई हप्तापछि बिरामीको संख्या बढ्न सक्छ । अर्थात् आजभोलि अस्पताल भर्ना भएका बिरामी एक–दुई हप्ता अघि संक्रमित भएका हुन् । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बम पछिल्ला दिनमा कोरोना संक्रमणको परीक्षण गर्ने, खोप लगाउने र संक्रमित हुने संख्या पनि बढिरहेको बताउँछन् । ‘दुई हप्ताअघि अस्पतालमा कुनै केस थिएन । एक हप्ताको बीचमा परीक्षण गराउने र संक्रमित हुने संख्या बढेको छ’, उनले थपे ।

सामान्य ज्वरो–खोकी भएका धेरै बिरामी परीक्षणको दायरामा नआएकाले आगामी दिनमा संक्रमणसँगै अस्पताल भर्ना हुने संख्यामा बढ्ने उनी बताउँछन् । ‘अब संक्रमण बढ्दै जाने देखिन्छ । दुई हप्तापछि अस्पतालमा पनि चाप बढ्छ’ डा. बमले थपे, ‘समयमै चनाखो भएर कोरोना व्यवस्थापनको तयारीमा लाग्नुपर्ने देखिन्छ ।

पाटन अस्पतालमा पनि अहिले साधारण निमोनिया भएका कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालका फोकल पर्सन डा. युवराज शर्मा संक्रमण समुदायमा प्रवेश गरेकाले दीर्घरोगी संक्रमित हुन थालेको बताउँछन् ।

‘संक्रमण समुदायमा फैलिएकाले घरमा भएका दीर्घरोगी संक्रमित भएको पाइएको छ । संक्रमित भएका युवा घरमै आराम गरेर बसेका छन्’ डा. शर्माले भने, ‘कोरोनाको संख्या बढ्दै जानुले थप चुनौती थपेको छ । अबको दुई महिना कोरोना संक्रमण बढ्ने आकलन गर्न सकिन्छ ।’

अस्पतालमा भर्ना र मृत्युको जोखिम टार्न नियमित मात्रा कोरोना खोप लिएपछि पनि अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउनुपर्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पूर्ण खोप लगाउनेको संख्या ८३.१ प्रतिशत छ ।

तर ३२ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । अर्थात् लक्षित जनसंख्याको ६८ प्रतिशतले अझै बुस्टर खोप लगाउन बाँकी छ ।

कोरोनाको नयाँ–नयाँ भेरियन्ट फैलिरहेका कारण बुस्टर डोज चाँडोभन्दा चाँडो पाउनु अहिलेको महत्वपूर्ण आवश्यकता हो । नेपालमा दोस्रो मात्रा खोप लगाएको पनि एक वर्ष पार गरिसकेको छ । खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएकाले पनि पुनः अतिरिक्त खोप लगाउन विज्ञ सुझाव दिन्छन् ।

खोप प्रभावकारी साबित भइसकेकाले राज्यले नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्ने र व्यवस्थापन गर्नुपर्ने बताउँछ जनस्न्वास्थ्यविद् डा. शरद वन्त । ‘सधैंभरि चन्दा मागेको भरमा खोप आउँदैन । त्यसका लागि सरकारले आफैंले लगानी गर्नतर्फ लाग्नुपर्छ’ डा. वन्तले थपे, ‘कोरोनालाई अन्य खोप कार्यक्रम भएका संरचनाबाट खोप दिने व्यवस्था गर्नुपर्ने देखिन्छ ।’

सतर्कता पनि अपनाऔं

कोरोना खोपको पनि प्रभावकारी निश्चित हुने र नयाँ–नयाँ भेरियन्ट आउने भएकाले बुस्टर डोज लगाउनुका साथै सावधानी पनि अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

कोरोना संक्रमण बढ्दै जाँदा अबको केही दिनमा भर्ना हुने र मृत्युको संख्या बढ्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । भर्खरै कोरोना समुदायस्तरमा फैलिरहेकाले पनि दुई–तीन हप्तापछि अस्पताल भर्ना हुने दर बढ्ने आकलन गर्न सकिने भन्दै डा. अधिकारीले भने, ‘अहिले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अस्पताल नै भर्ना गर्नुपर्ने जोखिम छ ।’

उनले अगाडि भने, ‘खोप लगाएको ६ महिनादेखि एन्टीबडी क्रमशः घट्न थाल्छ । त्यही बीचमा नयाँ भेरियन्ट पनि आएको छ । एन्टीबडी घट्नु र नयाँ भेरियन्ट पनि फैलिंदा पुनः संक्रमण हुने जोखिम उच्च हुन्छ ।’

जनस्वास्थ्यविद् डा. वन्त पनि कोरोना प्यान्डेमिक हुँदै इन्डेमिकमा आएकाले मिलेर बस्नुपर्नेको कुनै विकल्प नभएको बताए । ‘झाडापखाला वा हैजाको प्रकोप भएको खण्डमा पानी उमालेर खाने, हात धुने जस्ता काम गर्छौं’ उनले अघि भने, ‘कोरोनाबाट बच्न पनि प्राविधिक तथा सामाजिक प्रावधानको पालना अनिवार्य रूपमा गर्नुपर्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि निरन्तर कोरोनाको नयाँ भेरियन्ट देखा परिरहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कतालाई अवलम्बन नै गर्नुपर्ने बताउँछन् ।

जोखिममा रहेको वर्गका लागि भने बुस्टर र अन्य वर्गले कम्तीमा अनिवार्य पूर्ण खोप सबैले लगाउनुपर्ने डा. पुनको सुझाव छ । ‘सकेसम्म बुस्टर लगाउँदा अझै सुरक्षित बनाउँछ । तर दुई मात्रा खोपले पनि सुरक्षित भएको देखाएको छ’ डा. पुनले अनलाइनखबरसँग भने, ‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै खोपको विकल्पको रूपमा जनस्वास्थ्य मापदण्डका कुराहरूले संक्रमणलाई फैलिन नदिएको पुष्टि हुन्छ ।’

फ्लू र कोभिडको लक्षण उस्तै–उस्तै हुनेभएकाले परीक्षण गराउन पनि उनले सुझाव दिए । साबुनपानीले हात धुने, मास्क लगाउने जस्ता सावधानीका उपाय अपनाउँदा कोरोनाका साथै अरू रोगका लागि पनि सुरक्षित हुने भएकाले सदैव अपनाउनुपर्ने उनले बताए ।

बुस्टर खोप कहिलेसम्म लगाइरहने ?

खोपसम्बन्धी जानकारीहरू अझै पनि स्पष्ट नभएकाले खोप कहिलेसम्म लगाइरहने यकिन गर्न नसकिने जनस्वास्थ्यविद्को तर्क छ । ‘अहिलेसम्म बुस्टर डोज लगाउँदा पनि कति समयसम्म सुरक्षा दिन्छ भनेर प्रमाणित भएको छैन । कतिपय मानिसले चौथो डोज समेत लगाइसकेका छन्’ डा. वन्तले भन्छन्, ‘अहिलेसम्म आइपुग्दा तेस्रो, चौथो डोज लगाउँदा कति समय सुरक्षित हुन्छ भन्ने कुरा विज्ञानले स्थापित गर्न सकेको छैन ।’

‘बुस्टर डोज दिने भनेर भेरोसेल भ्याक्सिन छानियो भने त्यो प्रभावकारी हुन्न, त्यसैले फैलिरहेको ओमिक्रोनका लागि भनेर बनाइएको फाइजरको (बाइभलेन्ट) ‘बुस्टर डोज’ को प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ’, संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन् ।

खोप विज्ञ डा. श्यामराज उप्रेती पनि खोप लगाएको ६ महिनापछि विस्तारै प्रतिरोधी एन्टीबडी घट्दै जाने भएकाले थप अतिरिक्त खोप प्रभावकारी हुने बताउँछन् ।

‘अहिले अतिरिक्त मात्रा खोप लगाउन मानिसहरूको रुचि पनि कम देखिएको छ । आगामी दिनमा कोरोना पनि इन्फ्लुएन्जा जस्तै गरी फ्लु सरहको रूपमा देखिने आकलन गर्न सकिएको छ । त्यसै अनुसारको उपचारतर्फ लाग्नुपर्छ’ डा. उप्रेतीले भने, ‘कतिपटक खोप लगाउँदा सुरक्षित रहन सकिन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

खोपले संक्रमण पूर्ण रूपमा रोक्न नसके पनि त्यसले मृत्यु र गम्भीर प्रकारका बिरामी हुने अवस्थाबाट जोगाउने डा. उप्रेती बताउँछन् ।

ज्येष्ठ नागरिक तथा गम्भीर खालका अन्य रोग भएका व्यक्तिलाई कोरोना भएको अवस्थामा कडा खालको ‘निमोनिया’ नहोस् भन्नका लागि बुस्टर खोप लगाउन उनी सुझाव दिन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उच्च प्राथमिकतामा परेका समूहमा वृद्धवृद्धा र मधुमेह, क्यान्सर, मुटुसम्बन्धी गम्भीर प्रकारका रोग लागेका व्यक्तिलाई अतिरिक्त खोपका लागि प्राथमिकतामा राखेको छ ।

भण्डारमा कति छ खोप ?

कोरोना संक्रमण विस्तार हुँदा नेपालको भण्डारमा खोप रित्तिंदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ नेपालमा पनि फैलिने जोखिम रहेकाले अनिवार्य रूपमा ‘बुस्टर’ डोज लगाउन आग्रह गरेको छ ।

तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा (केन्द्रीय स्टोर) मा जम्मा ८ लाख खोप मात्रै ‘स्टक’ मा छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार फाइजर बाइभ्यालेन्ट खोप बुस्टरका रूपमा प्रदेश र स्थानीय तहहरूमा दिइएको छ ।

पछिल्लो पटक कोभ्याक्स सुविधामार्फत ल्याइएको ३० लाखमध्ये २२ लाख डोज मात्र प्रयोग भएको छ । ‘अहिले हामीसँग आठ लाख खोप ‘स्टक’मा रहेको छ । कोरोना संक्रमण बढिरहेकाले पनि थप खोप ल्याउने तयारीमा जुटेका छौं’, डा. चौरसियाले भने ।

केन्द्रीय कोल्डचेन टेकुमा भने ४० लाख सिनोभ्याक खोप लगाउन नमिल्ने गरी थन्किएर बसेको छ ।

सिनोभ्याक खोप पहिलो डोजको रूपमा मात्रै प्रयोग गर्न मिल्ने भएकाले अहिले भएको खोप खाल्डोमै हाल्नुपर्ने अवस्था आएको मन्त्रालयका अधिकारी बताउँछन् । यो खोप चीन सरकारले नेपाललाई सहयोगस्वरूप निःशुल्क उपलब्ध गराएको थियो । ‘स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग म्याद डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ’, उनले भने ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार पुरानो लगाएका खोप प्रभावकारी हुन नसक्दा नयाँ–नयाँ भेरियन्ट फैलिएको छ । ‘डेल्टा भन्दा चाँडो ओमिक्रोन फैलियो । अहिले ओमिक्रोनका सब–भेरियन्ट बढी संक्रामक देखिएका छन् । अहिले पहिला प्रयोग भएका खोपको प्रभावकारिता कम रहेको पाइएको छ । त्यसकारण पनि बढी प्रभावकारी मानिएको खोप ल्याउन सरकारले पहल गर्नुपर्छ’, उनी भन्छन् ।

सरकारले ‘बुस्टर डोज’ खोप ल्याउँदा ओमिक्रोन भेरियन्टमा प्रभावकारी देखिएको भ्याक्सिन छान्नुपर्ने उनको भनाइ छ । ‘बुस्टर डोज दिने भनेर भेरोसेल भ्याक्सिन छानियो भने त्यो प्रभावकारी हुन्न, त्यसैले फैलिरहेको ओमिक्रोनका लागि भनेर बनाइएको फाइजरको (बाइभलेन्ट) ‘बुस्टर डोज’ को प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ’, उनी भन्छन् ।

स्वास्थ्य मन्त्रालयले दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर र पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर खोप लगाउन आग्रह गर्दै आएको छ । यस्तै, कोरोना संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ ।

बुस्टर लगाउनेको संख्या हेरेर थप खोप ल्याउने योजना छ । बुस्टर डोजका रूपमा लगाउन मिल्ने फाइजर खोप कोभ्याक्स सुविधामार्फत ल्याउन पहल भइरहेको डा. चौरसियाले बताए ।

-अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया