
युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ले स्रोता दर्शकमाझ चर्चा बुटुल्दै गएको छ ।
टिकटकमा एक किसिमको चर्चा पाएसंगै बिहीवार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएको छोटो समयमै शुक्रवार दिउसोसम्म भिडियोको भ्युज १ लाख १० हजार पुगिसकेको छ । टिकटकमा पनि गीतले चर्चा पाउँदै गएको छ ।
‘प्रतिक्रियाहरू पनि एकदमै राम्रो आएका छन् । एकदमै खुशी छौं’ गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका अर्जुनले भने ।
यो लोकदोहोरी गीतमा गायक अर्जुन र गायिका शान्तिश्री परियारको स्वर छ । गीतका शब्द भने गीतकार शिव हमालले कोरेका हुन् । गायक अर्जुनकै संगीत रहेको गीतका एरेन्जर सुनिल परियार हुन् ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अर्जुनसँगै दिव्या न्यौपाने, बादल घिमिरे र क्रिष्टल सापकोटाको अभिनय छ । निर्देशक श्रेष्ठले भिडियोलाई आकर्षक बनाएका छन् ।
अजय रेग्मीको छायांकन रहेको भिडियोमा दिपक विष्टको सम्पादन छ । अर्जुनका ‘बनकी चरी’, ‘दुई दुना चार’, ‘पछयौरी लिसियो’, ‘ए ठूली’ लगायतका गीत चर्चित छन् ।