
पाल्पा । अबको केही दिन पाल्पा सदरमुकाम तानसेन संगीतमय बन्दैछ । बिहीवारबाट टुँडिखेलमा सुरु हुने ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिले सदरमुकामलाई गुञ्जायमान बनाउने भएको हो ।
२४ गतेसम्म चल्ने १३ औं संस्करणको यो महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ ।
चर्चित गायकहरु शिव परियार, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मादेखि खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा लगायतका कलाकारहरुले महोत्सवमा आफ्ना चर्चित गीतमार्फत स्रोता/दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
त्यस्तै, चर्चित गायिका शान्तिश्री परियार, ज्योति मगर, मन्जु पौडेलदेखि पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानसम्मको प्रस्तुति दर्शकहरुले टुँडिखेलमा प्रत्यक्ष हेर्न र सुन्न पाउनेछन् । अन्य थुप्रै चर्चित कलाकारहरु पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन्, जसका सांगीतिक प्रस्तुतिका साथमा दर्शकहरु झुम्न पाउनेछन् ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा पाल्पामा जन्मिएर कला क्षेत्रमा सक्रिय चर्चितदेखि स्थानीय कलाकारहरुलाई बढी प्राथमिकता दिइएको सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिए ।
कुन कलाकारको प्रस्तुति कहिले ?
महोत्सवको पहिलो दिन बिहीवार लोकगायक बसन्त लम्साल, अनु राना, कमल भट्टराई, यशोदा कार्की लगायतको प्रस्तुति रहनेछ ।
दोस्रो दिन १५ गते शुक्रवार दर्शकहरुको आकर्णणको केन्द्रमा रहनेछन् चर्चित लोकगायक राजु परिवार । नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजुसँगै दोस्रो दिन गायक मोहन खड्का, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), गायिका सपना गाहा, दुर्गा नेपाल, शित्तल शर्मा लगायतको समेत प्रस्तुति रहनेछ ।
१६ गते शनिवार चर्चित गायक शिव परियार दर्शकहरुको आकर्षणको केन्द्रमा हुनेछन् । स्टेज तताउन माहिर उनले आफ्ना चर्चित गीतमार्फत स्रोता/दर्शकहरुले नचाउनेछन् ।
त्यस्तै, शनिवार रामचन्द्र चन्द, दामोदर बस्याल, सकुन्तला गैरे, रुपेश कार्की, शित्तल शर्मा, रुपा नेपाली लगायतका कलाकारहरुको प्रस्तुती पनि रहनेछ ।
१७ गते आइतवार चर्चित रोइला गायक शिरीष देवकोटा दर्शकहरुको आकर्षणको केन्द्रमा रहनेछन् । उक्त दिन उनीसँगै कालिका रोका मगर, सीमा सारु र शित्तल शर्मा लगायतको पनि प्रस्तुति रहनेछ ।
१८ गते सोमवार चर्चित गायक बद्री पंगेनी र चर्चित गायिका शान्तिश्री परियार स्रोता/दर्शकहरुको मुख्य आकर्षणको केन्द्रमा रहने भएका छन् । उक्त दिन शिव भट्टराई, सनम परियार, तुलसा गाहा लगायतको पनि प्रस्तुति रहनेछ ।
१९ गते मंगलवार पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान महोत्सवको आकर्षणको केन्द्रमा रहनेछिन् ।
यी गायिकाले ‘धोकेबाज हौ तिमी’लगायतका आफ्ना हिट गीत गाएर दर्शकहरु नचाउनेछिन् । तानसेनमा उनको सम्भवतः पहिलो सांगीतिक प्रस्तुति हुनसक्छ ।
मंगलवार उनीसँगै गायिका श्रीदेवी देवकोटा, गायक हुम गैरे, दिपु मगर, नारायण लेकाली, रेखा लामा लगायतको पनि प्रस्तुति हुनेछ ।
चर्चित लोकगायक पशुपति शर्मा २० गते बुधवारको आकर्षणको रुपमा उपस्थित रहनेछन् । उक्त दिन उनीसँगै गायिका सीता राना, हाँस्य कलाकार माइला बा, गायक सुमन गैरे, गणेश न्यौपाने, गायिका ममता कोइराला लगायतको पनि प्रस्तुति रहनेछ ।
२१ गते बिहीवारको आकर्षणको केन्द्रमा चर्चित लोकगायक खुमन अधिकारी, बालगायक सुप्रिम मल्ल ठकुरी, गायिका मञ्जु पौडेल लगायत रहने छन् । उक्त दिन गायिका शिलु भट्टराई, हास्य कलाकार सुमित कुमार घिमिरे लगायतको पनि प्रस्तुति रहनेछ ।
२२ गते शुक्रवारको आकर्षणको केन्द्रमा चर्चित र विवादित छविकी गायिका ज्योति मगर रहनेछिन् । उक्त दिन ज्योतिसँगै गायिका मञ्जु पौडेल, गायक ईन्द्र जिसी, नविन पौडेल लगायतका कलाकारहरु पनि दर्शकहरुको आकर्षणका रुपमा रहनेछन् ।
२३ गते शनिवार चर्चित लोकगायक रामजी खाणँ आकर्षणको केन्द्रमा हुनेछन् । उक्त दिन जमुना राना, श्रीकृष्ण क्षेत्री, कमल भट्टराई, विजय बम्डेल, लक्ष्मी नेपाली, रामचन्द्र थापा लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।
महोत्सवको अन्तिम दिन २४ गते आइतवार किरण चित्रकार, अलिफ खान, पुरुषोत्तम गैरे, आरती रुचाल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
कतिपय कलाकारहरु महोत्सवमा उपस्थित हुने तय भएपनि मिति फाइनल हुन सकेको छैन् ।
अहिले तय गरिएको मितिमा कतिपय कलाकारहरुको प्रस्तुति फेरबदल समेत हुनसक्ने र कतिपय कलाकारहरु महोत्सवमा थपिन सक्ने सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले नयाँधारलाई बताए ।