पाल्पा सदरमुकाम तानसेन अबको केही दिनका लागि सांगीतिक माहोलमा समाहित भइसकेको छ ।
बिहीवारदेखि टुँडिखेलमा सुरु भएको ‘पाल्पा महोत्सव’ले सदरमुकामलाई संगीतमय बनाएको छ ।
बैशाख २४ गतेसम्म हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुति दर्शकहरुले महोत्सवमा प्रत्येक्ष हेर्न पाउनेछन् ।
शुक्रवार महोत्सवको मुख्य आकर्षणको केन्द्रमा रहे चर्चित लोक गायक राजु परियार । बेलुका ७ बजे प्रस्तुति सुरु गर्दै उनले ‘आमा तिम्रो दुधको भारा’बोलको गीत गाए ।
त्यसपछि ‘सुन पानीले छर्क मायालु’ लगायतका गीतहरु प्रस्तुत गरेका उनले गायिका सपना गाहासँग केही समय दोहोरी समेत गाए ।
शुक्रवार हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा)को प्रस्तुति पनि दर्शकहरुका लागि विशेष रह्यो ।
विभिन्न प्रसंग र सन्दर्भमा उनले दर्शकहरुलाई पेट मिचिमिचि हँसाए ।
पाल्पाको रामपुर स्थायी घर भएका गायक मोहन खड्काले तानसेनमा शुक्रवार पहिलोपटक सांगीतिक प्रस्तुति दिए । उनले पनि आफ्ना प्रेम विरहका गीतमार्फत स्रोता दर्शकको मन जिते ।
शुक्रवार गायिका दुर्गा नेपालको समेत प्रस्तुति रह्यो ।
तानसेनका विभिन्न कला केन्द्रको नृत्य प्रस्तुति समेत शुक्रवार दर्शकहरुका लागि विशेष रहेको थियो ।