
पाल्पा । सदरमुकाम तानसेनमा बिहीवारबाट सुरु भएको ‘पाल्पा महोत्सव’को तेस्रो दिन चर्चित गायक शिव परियारले प्रस्तुति दिएका छन् ।
शनिवार विदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई झुमाए । भिडभाड दर्शकहरुमाझ शिवले झण्डै डेढ घण्टा निरन्तर प्रस्तुति दिए ।
‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथिले’देखि ‘धोकेबाज हौ तिमी’सम्मका झण्डै एक दर्जन गीत गुनगुनाउँदा दर्शकहरुले हुटिङ गरिरहे ।
उनको प्रस्तुति हुँदै गर्दा आएको हावाहुरीले मेलास्थल टुँडिखेल धुलाम्ये हुँदै गएपनि दर्शकहरु लाखापाखा लागेको देखिएन ।
शनिवार शिवसँगै दिपु मगर, रुपेश कार्की, शकुन्तला गैरे लगायतको समेत प्रस्तुति रह्यो । स्टेजदेखि स्टल र वालउद्यानसम्मै शनिवार दर्शकहरुको भिड्भाड बाक्लो देखिएको थियो ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ ।
तस्वीर सौजन्य : बिराट पहारी