पाल्पा । तानसेन टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा आइतवार चर्चित लोक गायकद्धय खेम सेञ्चुरी र शिरीष देवकोटा मुख्य आकर्षणका रुपमा रहने भएका छन् ।
महोत्सवमा चौथो दिन दर्शकहरुले एकपछि अर्को हिट गीत दिइरहेका गायक खेम र रोइला गायकका रुपमा स्थापित शिरीषको प्रस्तुति प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका हुन् ।
‘रमरम मरौटी’, ‘झ्यालमा पर्दा छ’, ‘सुर्ति माड्दै माड्दै गयो जोवन’जस्ता हिट गीतका गायक खेमले महोत्सवमा यि लगायतका आफ्ना अन्य हिट गीतमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।
‘म त आउने थिइन्’, ‘दुर्गा हौ कि भवानी’ जस्ता चर्चित रोइला गीत र थुप्रै लोकदोहोरी गीतका गायक शिरीषले पनि महोत्सवमा आफ्ना हिट गीतहरुमार्फत दर्शकलाई नचाउनेछन् ।
पाल्पा उद्योग वाणिज्य संघले १३ औं संस्करणका रुपमा आयोजना गरेको महोत्सवमा आइतवार अन्य कलाकारको गीत एवं कला केन्द्रहरुको नृत्य समेत प्रस्तुति हुने सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा शनिवार दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । गायक शिव परियारको प्रस्तुति रहेको शनिवार १० हजार बढी दर्शक उपस्थित भएको जनाइएको छ ।
महोत्सव प्रचारप्रसार उपसमिति संयोजक बिदुर घिमिरेले शनिवार एकैदिन १० हजार टिकट बिक्री भएको जानकारी दिए ।
दर्शकहरुको उक्त उपस्थितिले आयोजकलाई उत्साहित बनाएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
शनिवार बेलुका हावाहुरी र आइतवार बिहान हल्का पानी परेपनि दिउँसोदेखि मौसम सुधार हुने र महोत्सवमा दर्शकहरुको उपस्थिति उत्साहजनक रहने विश्वास आयोजकको छ ।
गत बिहीवारदेखि सुरु भएको महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ । पाल्पा उद्योग वाणिज्य संघले झण्डै पाँच वर्षपछि तानसेनमा महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा सांगीतिक कार्यक्रमतर्फ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पाले समन्वयकारी भूमिका खेलेको छ ।