पाल्पा महोत्सवमा बद्री र शान्तिश्री : पहिले भावुक बनाए, पछि छमछमी नचाए

गायक बद्री पंगेनीले जब स्टेजमा गीत गाउन सुरु गरे, उपस्थित दर्शक शान्त भए ।
बाध्य भइयो परदेशमा छिर्न
आमा मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घरमा आउँदिन
उनी यो गीत गाउँदै स्टेजबाट झरेर दर्शकको नजिक–नजिक पुग्न थाले । भावुक मुन्द्रामा प्रस्तुति दिएका बद्रीको गीतमा दर्शक पनि भावुक बने ।

हे, आमा तिम्ले नझार आँशु, आमा तिमी रोए कसरी म हाँसु
आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घरमा आउँदिन

बद्रीले गीत गाउँदा अगाडि रहेका धेरै आमाहरुको आँखा रसाए । केही आमाहरु पछ्यौरीले मुख छोपेर रोए समेत । धेरै दर्शकलाई उनले गीतमार्फत भावुक बनाए ।

सोमवार पाल्पा सदरमुकाम तानसेनको टुँडिखेलमा गायक बद्रीले सांगीतिक प्रस्तुति दिएका हुन् । जारी ‘पाल्पा महोत्सव’मा मुख्य आकर्षणका रुपमा उपस्थित बद्री सुरुवातमा ‘आमा बिदा पाउँदिन’ गाएर दर्शकलाई भावुक बनाए भने त्यसपछि उनले आफ्ना गीतमार्फत दर्शकलाई भरपुर नचाए ।

महोत्सवमा दोस्रो गीतस्वरुप उनले जातीय विभेदविरुद्धको ‘तिम्रो घरमा मेरी छोरी’ गाए । यसपछि भने बद्रीले दर्शक नचाउने खालका गीतहरु प्रस्तुत गर्दै गए । केही समयअघि मात्रै सार्वजनिक आफ्नो चर्चित गीत ‘पैसा सापटी’ उनले प्रस्तुत गरे ।

‘रातो पछयौरी’, ‘पानी सलल’, ‘चप्पल छिनियो’, ‘ससुरालीमा’सँगै झ्यारे र पञ्चेबाजा गीतमा बद्रीले दर्शकलाई छमछमी नचाएका हुन् । दर्शकले उनका अधिकांश गीतमा हात हल्लाएर, ताली बजाएर, हुटिङ गरेर एवं नाचेर साथ दिएका थिए ।

महोत्सवमा सोमवारको मुख्य आकर्षणका रुपमा उपस्थित गायिका शान्तिश्री परियारले पनि बद्रीले जस्तै सुरुवातमा दर्शकलाई भावुक बनाइन्् ।

‘बोल माया’बोलको गीत गाएर भावुक बनाएसँगै उनले पनि अन्य गीतमार्फत भने दर्शकलाई भरपुर नचाइन् । ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘बन्दीपुरैमा’, ‘सोल्टी बजारमा’, ‘भिर मौरी’, ‘चौका दाउ’, ‘खोली तारी देउन माझी दाई’, ‘गलबन्दी’ जस्ता आफ्ना हिट नम्वरहरु शान्तिश्रीले प्रस्तुत गरिन् ।

उनका हरेक प्रस्तुतिमा दर्शकहरु उत्साहित हुँदै चर्को हुटिङ गरे । हात हल्लाउने, ताली बजाउनेसँगै छमछमी नाचेर शान्तिश्रीलाई दर्शकले साथ दिए । उनका धेरै प्रस्तुतिमा दर्शकबाट ‘वान्स मोर’ सुनियो ।

दर्शकको आग्रहलाई स्वीकार्दै ‘चौका दाउ’, ‘खोली तारी देउन माझी दाई’, ‘गलबन्दी’ ईत्यादी गीत उनले पुनः गाइन् । बद्री र शान्तिश्रीले केही समय दोहोरी समेत गाए । यि दुवै कलाकारले दर्शकबाट निकै साथ पाए ।

सोमवार विदा भएकाले महोत्सवमा दर्शकको भीड लागेको थियो । चर्चित कलाकारहरु आउने भएपछि गाउँगाउँबाट दर्शकहरु महोत्सव अवलोकन गर्न आएका थिए । स्टल, वालउद्यानदेखि स्टेज सबैतिर सोमवार दर्शकहरु खचाखच देखिएका थिए ।

सोमवार हास्य कलाकार सुमित कुमार घिमिरेले हास्य प्रस्तुतिले दर्शकलाई हसाउन सफल भएका थिए । त्यस्तै, अन्य कलाकार एवं कलाकार केन्द्रहरुको सांगीतिक प्रस्तुति समेत सोमवार भएको थियो ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा १४ वैशाखदेखि सुरु भएको महोत्सवमा छैठौं दिन (मंगलवार)को मुख्य आकर्षणका रुपमा चर्चित गायिका एलिना चौहानको प्रस्तुति हुँदैछ ।

त्यस्तै, गायक रामचन्द्र चन्द, गायिका श्रीदेवी देवकोटा, गायक नारायण लेकाली, दामोदर बस्याल लगायतको प्रस्तुति समेत दर्शकले हेर्न पाउनेछन् ।

महोत्सव वैशाख २४ सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer