महोत्सवमा शनिवार २० हजार टिकट बिक्री, खचाखच दर्शकमाझ कलाकारको प्रस्तुति

तानसेन । शनिवार २५ हजार हाराहारी दर्शकले ‘पाल्पा महोत्सव’ अवलोकन गरेका छन् ।

वैशाख १४ गतेबाट तानसेनमा चलेको महोत्सव समापनको अघिल्लो दिन शनिवार दर्शकको उल्लेखनिय सहभागीता रहेको हो ।

शुक्रवार २० हजार हाराहारी दर्शकले महोत्सव अवलोकन गरेकोमा शनिवार त्योभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

महोत्सव प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले भने, ‘शनिवार दर्शकको उपस्थिति एकदमै उत्साहजनक रह्यो । २० हजार हाराहारी टिकट बिक्री भएको छ । आयोजक, स्टल, मिडिया ईत्यादीको पास लिनेहरु जोड्दा २५ हजार हाराहारी दर्शकले महोत्सव अवलोलन गरेको अनुमान गर्न सकिन्छ ।’

शनिवार दिनभर नै स्टलदेखि वालउद्यान र स्टेजसम्मै दर्शकहरु खचाखच देखिएका थिए । शनिवारको दर्शकको उपस्थिति महोत्सवमा आजसम्मकै सर्वाधिक हो ।

शनिवार दर्शकको मुख्य आकर्षणका रुपमा लोकगायक रामजी खाँण रहे । उनले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । त्यस्तै, अर्का गायक अर्जुन कौशलको प्रस्तुतिमा पनि दर्शक निकै रमाए ।

गायिका जमुना राना र गायक श्रीकृष्ण क्षेत्रीको प्रस्तुति पनि शनिवार दर्शकलाई विशेष रहेको थियो । यसैगरी कलाकार विजय बम्डेल ‘मंगले’ र कमल भट्टराई ‘आस्कोटे बा’ले हास्य प्रस्तुतिमार्फत दर्शकलाई हसाएका थिए ।

मञ्जु पौडेलको उद्घोषण रहेको शनिवारको कार्यक्रममा अन्य सांगीतिक प्रस्तुतिहरु समेत भएका थिए । पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव आइतवार समापन हुँदैछ ।

तस्वीरहरु : रुपेश कार्की

तपाईको प्रतिक्रिया