
तानसेन। सिद्धबावा क्षेत्रमा निर्माण भइरहेको सुरुङ्मार्गको काममा ढिलाई भएको छ । गत २०७९ असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भएपनि सुरुङ् मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो ।
सुरुङ्मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाईले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ ।
निर्माण पक्षले सुरुङ् मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको छ। यद्यपी अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ् मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताए।
सुरुङ्मार्गको डिजाइन स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको र त्यहाँबाट स्वीकृत भएर आउन बाँकी रहेको जैसवालले बताए।
सुरुङ् मार्गको डिजाइन आगामी साउन १५ भित्र स्वीकृति भएर आउन सक्ने बताइएको छ ।
हाल जति डिजाइनको स्वीकृति भएको छ, सोही अनुसार काम भइरहेको निर्माण पक्षले जनाएको छ ।
सुरुङ् मार्गको हालसम्म गेट निर्माणकाे काम भइरहेको छ ।
वर्षासंगै निर्माणधीन स्थलमामाथि केही पहिरो खसेका कारण पनि कामले गति लिन नसकेको निर्माण पक्षले जनाएको छ ।
निर्माणस्थलमा आवश्यक अन्य पूर्वाधारहरू डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भइसकेको छ ।
सरकारले गत २०७९ असोजदेखि नै सुरुङ् मार्गको निर्माण सुरु गर्ने जनाएको थियो । तर प्रारम्भिक चरणको काम सुरु गर्न ढिलाई हुँदा सुरुङ् मार्गको काममासमेत ढिलाई भएको हो ।
डिजाइन स्वीकृति हुन ढिलाई हुनु, प्रारम्भिक चरणको काम ढिला सुरु हुनुजस्ता कारणले सुरुङ् मार्गको थालनीमा समेत प्रभाव परेको बताइएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ् मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो ।
सुरुङ् मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।