पाल्पामा बादँर भगाउन राखेको पासोमा परी दुई महिला गम्भीर घाइते

तानसेन। पाल्पामा बादँर भगाउन राखेको पासो (करेन्ट) लागेर दुई जना महिला घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका वडा नं. ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा करेन्ट लागेर दुई जना स्थानीय महिला घाइते भएका हुन् ।

घाइते हुनेमा ३१ वर्षीया विजिता आले र ३८ वर्षीया तिलु थापा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बारीमा घाँस काट्न जाने क्रममा उनीहरू बादँरलाई राखेको पासोमा परेका हुन् ।

घाइते दुबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते महिलाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रही निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया