पाल्पामा समाजवादी मोर्चा गठन, प्रजिअमार्फत ध्यानाकर्षण

तानसेन। पाल्पामा समाजवादी मोर्चा गठन भएको छ । केन्द्रमा समाजवादी मोर्चा गठन भएसंगै पाल्पामा पनि चार दलको संयुक्त बैठकले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादब बहादुर रायमाझीको संयोजकत्वमा समाजवादी मोर्चा नेपाल पाल्पाको गठन भएको हो ।

मोर्चामा जिल्लास्थित नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी आवद्ध रहेका छन् ।

चार दलको संयुक्त बैठकले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलालाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । मोर्चाले सरकारका कामको सही प्रचार गर्न, जिल्लामा शुसासन कायमका लागि पहल गर्न, विद्युत, खानेपानी तथा सार्वजनिक यातायातको भाडा समायोजनजस्ता विषयमा ध्यानाकर्षण गराएको जनाएको छ ।

यस्तै टिपरका कारण सडक बिग्रिएको अवस्थाबारे चासो, स्थानीय तहमा देखिएको बेथिती तथा चुनढुंगा खानीबाट देखिएका समस्या समाधानका लागि पहल गर्न माग गरेको मोर्चाका संयोजक यादव बहादुर रायमाझीले जानकारी दिए ।

सो बखत प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय प्रशासनको तर्फबाट हुने सबै कार्यमा आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रजिअ बास्तोलाले खानीका विषयमा उठेका कुराका लागि माथिल्लो निकायबाटै पहल गर्नुपर्ने बताए । उनले मोर्चासंग पुनः छलफल गरी जिल्लाको समसामहिक विषयमा छलफल गर्न आफू तयार रहेको पनि जनाए ।

यसैबीच मोर्चाले समितिलाई पूर्णता दिने तथा जनपक्षिय कामका लागि पहल गर्ने जनाएको छ ।


ध्यानाकर्षण पत्रमार्फत निम्न कुरामा जोड दिएएको छ ।

निकै ठूलो सङ्घर्ष, त्याग र बलिदानको बलमा देशमा गणतन्त्र आएको र संविधानले समाजवादोन्मुख राज्यमा जाने सङ्कल्प गरेको हो।तर, समाजवादका हिमायती शक्तिहरूबीच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको लाभ व्यवस्था विरोधीहरूले लिन कोसिस गर्ने र जनतामा कुण्ठा र निरासाका संकेतहरू देखिन थालेकोले समाजवादको आधार निर्माणका लागि देशमा ठूलो राजनीतिक बहस , ध्रुवीकरण र संघर्ष अनिवार्य भएको ठानी नेपाली विशेषता र मौलिकता सहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरूको संयुक्त मोर्चाको रुपमा समाजवादी मोर्चा बनेको स्पष्ट पार्न चाहन्छौं ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र , जनताको मुक्ति र अधिकारका निम्ति दशकौँ लामो संघर्ष गरेका शक्तिहरूका विरूद्ध आम जनता भड्काउने प्रयत्नहरू भएकोले नेपालको संविधानको रक्षा र कार्यान्वयन, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने पहरेदारका रूपमा दृढतापूर्वक यो मोर्चा उभिनेछ र समाजवाद निर्माणमा अग्रसर हुनेछ भन्ने बिश्वास दिलाउन चाहान्छौ।समाजबाद प्रती बिश्वास राख्ने सबै बामपंथी र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध गर्दै मोर्चालाई अझ सुदृढ र बलियो बनाउदै लैजाने हाम्रो योजना रहेको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वाम–लोकतान्त्रिक सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनमुखी कार्यहरू गरिरहेको छ।सरकारले भ्रष्टाचारी, तस्कर र माफियाहरुलाई धमाधम पक्राउ गरिरहेको सन्दर्भमा आफुलाई जिम्मेवार बताउने केही शक्तिहरुले सरकारलाई हतोत्साहित बनाउने र भ्रस्टहरुलाइ संरक्षण गर्ने प्रकारका गतिविधि गर्नु सुशासन कै उपहास हो र समृद्धिको बाधक हो भन्ने हाम्रो ठहर रहेको छ। हामिले सरकारलाई भ्रष्टाचारका सबै फाइलहरु खोल्न , त्यसको निस्पक्ष रुपमा छानबिन गर्न र भ्रष्टाचारीहरुलाइ तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दछौं ।

जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्नेगरी परिणाम हासिल गर्न सरकारलाई सहयोग गर्ने , समाजको अग्रगामी रूपान्तरणको वातावरण बन्छ भन्ने आत्मविश्वास जनतामा विकास गर्ने साथै अल्मलिएको राजनीतिलाई ठिक प्रकारले दिशानिर्देश गर्न हामी एक ठाउँमा उभिएका छौँ ।

पाल्पा जिल्लामा रहेका कतिपय सरकारी कार्यालयहरुबाट राम्रो कार्य हुदाँहुदै पनि कतिपय कार्यालयहरुबाट सेवाग्राहीहरुलाई अनावश्यक झन्झट दिने , विकास योजनाहरु छिटो छरितो रुपमा सम्पन्न नगर्ने, गुणस्तरीयता को मापन बिना कमिसनको आडमा भुक्तानी गर्ने लगायतका गुनासोहरु आइरहेकोले हाम्रो ध्यानाकर्षण भएको छ। यसप्रकारका गतिविधिको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्य घटाइरहेको भएपनी पाल्पामा यातायातको भाडा समायोजन नगरिएको पाइएकोले तत्काल वैज्ञानिक भाडादर कायम गर्न जोडदार माग गर्दछौं ।

पाल्पा जिल्लामा कतिपय खानीहरुले अनधिकृत रुपमा चुनढुङा उत्खनन गर्ने गरेको र बाटोको क्षमता भन्दा बढि जथाभावी टिप्पर प्रयोग गर्नाले राज्यको धेरै रकम लगानी गरेर बनाएका बाटोहरु भत्कने ,पहिरो जानेलगायतका मस्या आइरहेको र दुर्घटना समेत हुने गरेकोले खानी र टिप्परहरुलाई तत्काल नियमन गर्न माग गर्दछौं ।

मिटरब्याज र लघुबित्तका समस्याहरु पाल्पामा पनि देखिन शुरु गरेका छन् । यसलाई बेलैमा समाधान गरिएन भने बिकराल रुपलिने सम्भावना भएकोले सम्बन्धित निकायलाई सचेत बनाउन चाहन्छौं ।

 

 

तपाईको प्रतिक्रिया