मनसुनमा किन फैलन्छ डेंगी ?

काठमाडाैं। मनसुनको सुरुवातसँगै डेंगीलगायत चिकेनगुनियाजस्ता लामखुट्टेबाट सर्ने रोग बढ्न थालेका छन् । मंगलबारसम्म नेपालका ४ हजारभन्दा बढी मानिसमा डेंगीको संक्रमण देखिँदा यो रोग ६९ जिल्लामा फैलिसकेको छ । डेंगी एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

एक वर्षको अन्तरालमा डेंगीको प्रकोप देखिने गरिए पनि नेपालमा केही वर्षयता बर्सेनि संक्रमण देखिँदै आएको छ । गत वर्ष ५४ हजार मानिसमा यसको संक्रमण हुँदा ८८ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ मा डेंगीको प्रकोप नेपालका ६८ वटा जिल्लामा देखिएको थियो । त्यसबेला १९ हजारमा संक्रमण भएको थियो ।

 

गर्मी क्षेत्र  (ट्रोपिकल एरिया)मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लाहरूमा फैलन थालेका छन् । हिमाली जिल्ला सखुवासभामा यो वर्ष ६० भन्दा बढीमा डेंगी देखिएको छ ।

सन् २००४मा पहिलो पटक चितवनमा रेकर्ड भएको डेंगी सन् २००६मा तराईका ९ जिल्लामा फैलिइसकेको थियो । त्यसको तीन वर्षपछि काठमाडौंमा सन् २००९मा डेंगी सार्ने लामखुट्टे ‘एडिज एजिप्टी’ को पहिचान भएको थियो । त्यसको एक वर्षपछि काठमाडौंमा सन् २०१०मा पहिलो पटक डेंगीका बिरामी भेटिएको विगत छ । सन् २०१० मा ९ सय १७ जनामा डेंगी देखिँदा, २०१६ मा १५ सय २७ थियो । जबकि २०२२ मा ५० हजारभन्दा बढीलाई डेंगी संक्रमण भएको थियो ।

पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्‍याइरहेको नेपाली वैज्ञानिकहरूको एक अनुसन्धानले देखाएको छ । तराई क्षेत्रमा सापेक्षिक आद्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने सो अध्ययनको निष्कर्ष छ ।

६९ जिल्लामा डेंगी, ३ जनाको मृत्युत्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सह–प्राध्यापक रेश्मा तुलाधारसहित ७ जना अनुसन्धानकर्ता मिलेर गरेको अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो । तराई र पहाडी क्षेत्रमा हावापानीमा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा के कस्तो असर पार्छ भन्ने सम्बन्धमा ‘पारासाइटस् एन्ड भेक्टर’ जर्नलमा उक्त आलेख प्रकाशित छ ।

डेंगी नियन्त्रण सहरी क्षेत्रमा संकलन गरेर राखिने पानी, फोहोर विसर्जन,सरसफाई र नियन्त्रणका उपाय अपनाउन सो आलेखको सुझाव हो । नेपालको सन्दर्भमा फरक फरक वर्षमा डेंगीको प्रकोप देखिने गरेको छ । जुलाईरअगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बररअक्टोबरमा प्रकोप उच्च विन्दुमा पुगेपछि विस्तारै घट्ने तुलाधारको अनुसन्धानले देखाउँछ ।

सन् २०१९ पछि यो वर्ष डेंगी प्रकोपका रूपमा देखाएको परेको छ । यसअघि अन्य स्थान हुँदै उपत्यकामा डेंगी देखिन्थ्यो । तर यसपटक काठमाडौंमा पहिलो पटक देखिएर अन्यत्र डेंगीका बिरामी देखिए । काठमाडौंबाट सुरु भएको डेंगी संक्रमण अहिले देशका ६६ जिल्लामा देखिएका छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिवर्तनका कारण डेंगीलगायतका अन्य किटजन्य रोग नेपालमा फैलने क्रममा रहेको गत वर्ष नै बताइसकेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत एवं वातावरण स्वास्थ्य विज्ञ मेघनाथ धिमालको अनुसन्धानले पनि डेंगीलगायतका लामखुट्टेबाट सर्ने सरुवा रोगको संक्रमण बढ्ने देखाइसकेको छ ।

डेंगी फैलाउने लामखुट्टेको बास अस्पतालमै
मनसुनका बेला वर्षा नियमित नहुँदा पानी पर्ने र घाम लाग्ने हुन्छ । जसले गर्दा तापक्रममा आउने उत्तरचढावले डेंगी भेक्टरको संख्या बढ्न मद्दत पुर्‍याइरहेको नेपाली अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

धिमालको अनुसन्धानले डेंगी भेक्टर २ हजार मिटरको उचाइसम्म पाइएको थियो । तर अहिले हिमाली जिल्लाहरुमा पनि यसको फैलावट देखिएपछि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । डेंगी भेक्टरलाई उपयुक्त तापक्रम २० देखि ३० डिग्री हो । जब यो तापक्रम धेरै समयसम्म रहीरहन्छ तब वृद्धिदर हुने गर्छ ।

सन् २०२१मा एड्भान्स इन क्लाइमेट रिसर्च जर्नलमा धिमालको प्रकाशित एक अनुसन्धानले पहाडी जिल्लामा डेंगीको संक्रमण सन् २०५० सम्म बढ्ने र २०७०को दशकमा दोब्बर भइसक्ने प्रक्षेपण गरेको छ । धिमालको विद्यावारिधिको अनुसन्धानले पनि तापक्रममा भइरहने फेरबदलका कारण रोग संक्रमण बढ्ने देखाएको छ ।

तापक्रम र डेंगी

डेंगी फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगी भाइरस बोकेको लामखुट्टेले फूल पार्दा ती फूलमा पनि भाइरस ट्रान्सफर हुन्छ । व्यस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगी भाइरसको संक्रमण भइसकेको हुन्छ ।

डेंगी सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुने अनुसन्धानहरुमा देखाइएको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्ने विज्ञहरू बताउँछन् । सबैभन्दा बढी सक्रिय २५ देखि २६ डिग्री तापक्रम हुँदा पाइएको छ ।

लामखुट्टेले एक पटकमा ६ जनासम्मलाई टोक्ने गर्छ । एउटै लामखुट्टेले २ देखि ६ जनासम्म टोक्ने तुलाधारको अध्ययनमा उल्लेख छ । जबकी मलेरिया, जापनिज इन्सेफ्लाइटिस सार्ने लामखुट्टेले एउटा मानिसलाई टोकेर नै अघाउने अनुसन्धानहरूमा उल्लेख छन् ।

तापक्रम बढ्दा पाचनप्रक्रिया पनि चाँडो हुँदा टोक्ने दर पनि बढ्छ । जसकाले गर्दा यी प्रजातिको वृद्धिदर पनि सोही अनुपातमा हुने गर्छ । प्रायः यी लामखुट्टे ३५ डिग्री तापक्रम नाघेपछि निष्क्रिय हुन्छन् ।

यी प्रजातिको लामखुट्टको जीवनचक्र १० दिनमा पूरा भइसक्छ । पहाडी भेगमा भने दुई हप्तामा जीवनचक्र पूरा गरेको पनि पाइएको छ । काठमाडौंको हकमा भने लामखुट्टेको वृद्धिका लागि चाहिने वातावरण धेरै राम्रो भएकाले वृद्धिदर बढिरहेको छ ।

सहप्राध्यापक तुलाधार भन्छिन्,‘ लामखुट्टेको प्रकोप वर्ष दिन बिराएर आउने भन्ने हुँदैन । उपयुक्त वातावरण भयो भने हरेक वर्ष पनि फैलिन सक्छ । तर संख्या कम होला तर प्रकोप जहिले पनि हुन सक्छ । ’

उपयुक्त तापक्रम हुँदा छिटो छिटो फुल पार्ने र जीवनचक्र पनि छिटै समाप्त हुने र संख्या धेरै हुने भएपछि संक्रमण बढिरहेको उनले जनाए । काठमाडौंको हकमा तापक्रम २० देखि ३० हुने भएकाले पनि लामखुट्टेको फैलावट धेरै हुने अनुमान लगाउन सकिन्छ ।

काठमाडौंमा किन बढ्यो ?

वीर अस्पतालमा जमेको पानीमा देखिएका लामखुट्टेका लार्भा । तस्बिर स् अंगद ढकालरकान्तिपुर

ग्यारेज पसलमा राखिने टायर र त्यहाँभित्र जम्ने पानी लामखुट्टेका लागि प्रजनन्का लागि उपयुक्त मानिन्छ । त्यो ठाउँमा तापक्रम पनि उसलाई वृद्धि गराउने किसिमको तयार हुन्छ । मनसुनको समयमा काठमाडौंमा फोहोरको मात्रा धेरै नै थुप्रिने गर्छ । फोहोरबाट निस्कने लिचेटमा वर्षाको पानी मिसिँदा लामखुट्टेका लागि पनि उपयुक्त मानिन्छ ।

जस्तो कि २०१९को प्रकोपमा काठमाडौंमा फोहोरको डंगुरलाई पनि एउटा कारण मानिएको थियो । डेंगी संक्रमण दर जलवायु परिवर्तन र तापक्रममा आएको उतारचढावलाई पनि लिने गरिन्छ । पहिला(पहिला ट्रोपिकल र सब–ट्रोपिकल क्षेत्रमा मात्रै देखिने यसको संक्रमण अहिले टेम्परेट एरियामा पनि पाइन थालेको छ । यसको मुख्य कारण बढ्दो तापक्रम वृद्धि र सहरीकरणलाई मान्छन् विज्ञ । तुलाधार भन्छिन्,‘ सहरमा धेरै नै मानिसहरू हुन्छन् । कसैको रोग प्रतिरोधात्मक क्षमता बढी र कमी हुन्छ । उपयुक्त वातावरण हुनेबित्तिकै फैलावट हुन्छ । ’

डेंगी फैलाउने लामखुट्टे सफा पानीमा पाइन्छ । यसको विशेषता भनेको विशेषता भनेको पानी सुकेर सुख्खा भएको ठाउँमा पनि ‘एग सर्भाइभ’ हुन्छ । ‘डेंगीलाई विविध आयामबाट हेरिनुपर्छ । डेंगीसँगै लामखुट्टेबाट सर्ने जापनिज इन्सेफ्लाइटिस, चिकेनगुनियाका केस पनि आएका हुन्छन् । मानिसको रोगप्रतिरोधी क्षमता पनि यसमा जोडिन्छ,’ तुलाधारले भनिन्, ‘त्यसैले डेंगी सोचेअनुसारको होइन धेरै नै कम्प्लेक्स छ ।’

-इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया